सभासद्ले नै जलाए मस्यौदा

काभ्रे, ६ साउन । मस्यौदामा जनताको सुझाव संकलन गर्न हिँडेका सभासद्ले नै काभ्रेमा मस्यौदा जलाएका छन् । काभ्रे निवासी राप्रपा नेपालका सभासद् रेशम लामाले कार्यकर्तासहित नारबाजी गर्दै मस्यौदा जलाएका हुन् ।

जुलुससहित अरनिको सभाहल पस्न खोजेका लामालाई प्रहरीले रोकेपछि हल बाहिरै मस्यौदा जलाइएको थियो । सो क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडपसमेत भएको थियो ।
राप्रपा नेपालले हिन्दू राष्ट्रको माग गर्दै देशैभरि सुझाव संकलन कार्यक्रमको बहिष्कार गर्ने, मस्यौदा जलाउने कार्यक्रम रहेकाले काभ्रेमा पनि जलाइएको बताए । ‘हाम्रो पार्टीले उठाएको हिन्दू राष्ट्रको नारा जायज छ ।’ सभासद् लामाले भने, ‘८२ प्रतिशत हिन्दू रहेको यो देश हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पार्टीकोे स्पष्ट अडान हो ।’
आफ्नो पार्टी अहिले पनि संवैधानिक राजतन्त्रको पक्षमा रहेको बताउँदै गणतन्त्रवादीले देशलाई डुबाएको सभासद् लामाले बताए ।

प्रतिक्रिया