आन्दोलन कमजोर बनाएको आरोप

विमल ढकाल अध्यक्षका उम्मेदवार

विमल ढकाल
अध्यक्षका उम्मेदवार

काठमाडौं, ६ साउन । वैदेशिक रोजगार व्यवसायीहरूले गरेको ‘फ्री भिसा’, ‘फ्री टिकट’को आन्दोलन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा खगोल ओभरसिजका सञ्चालक विमल ढकालका कारण असफलताको बाटोतर्फ गएको आरोप लागेको छ ।

अध्यक्ष ढकालले संघका कार्यसमितिको बैठक नै नराखी मनोमानी ढंगबाट पुनरावेदन आदालतमा सरकारले लागु गरेको ‘फ्री भिसा’, ‘फ्री टिकट’ कामदार र व्यवसायीको हितमा नरहेकाले तत्काल स्थगन गर्न रिट दायर गरेका थिए । अदालतले तत्कालका लागि कुनै पनि निर्देशन जारी गर्नु नपर्ने आदेश दियो । अदालतको उक्त आदेशले सरकारलाई सहयोग पुग्ने भन्दै व्यवसायी आन्दोलनमा गए ।
व्यवसायीहरूले संघका अध्यक्ष नै व्यवसायीको विरोध र सरकारको सपोर्टमा बोल्नेको पक्षमा वकालत गर्न लागेको भन्दै आन्दोलित बन्ने घोषणासमेत गरिरहेका छन् । अध्यक्ष ढकाल संघका निवर्तमान अध्यक्ष हंसराज वाग्ले र अर्का व्यवसायी रामप्रसाद श्रेष्ठको निर्देशनमा अदालत पुगेका थिए ।
अध्यक्ष ढकालले सरकरको निर्णयको स्वागत गर्ने व्यक्तिको पछि लागेर आन्दोलन असफल बनाउन लागेको, सरकार र व्यवसायी प्रतिनिधिको वार्तामा पनि कुनै पनि धारणा नराख्ने र मुक दर्शक बनेर बस्ने गरेको भन्दै वार्षिक एक हजार पाँच सयभन्दा कम कामदार पठाउने व्यवसायी एक भएर आन्दोलन गर्ने बताउन थालेका छन् । व्यवसायीहरूले सामाजिक सञ्जाल फेसबुकमा नै स्टाटस लेखेर आन्दोलनमा सहभागी हुन साना व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

उक्त आन्दोलनमा अन्य व्यवसायीहरूले पनि सहभागी जनााउने भएका छन् । ‘जुन उत्साहका साथ आन्दोलन सुरु गरियो, अहिले संघका अध्यक्षले नै असहयोग गरेका छन्’, एक व्यवसायीले भने, ‘संघको कार्यसमितिले तीव्र विरोध गरेपछि आत्म आलोचनासहित माफी मागेका छन्, त्यो उनको नाटक मात्र हो ।’ व्यवसायीको आन्दोलनमा साथ नदिने र व्यक्तिगत प्रलोभनमा पर्ने अध्यक्षविरुद्ध लाग्ने आन्दोलनरत व्यवसायी बताउँछन् ।
व्यवसायीहरूले सरकारसँग गरेको वार्तामा भिएलएन नेपाल र बायोमेट्रिकलाई पनि ओझेलमा पारेको व्यवसायीको आरोप छ । नेपालमा बायोमेट्रिक लागु गर्नका लागि व्यवसायीको ६ बँुदा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दिएको दुई सहित ८ बुँदामा सहमत भए स्विकार्ने निर्णय भएको छ । उक्त बुँदा लागू गर्न मलेसियाले पठाउनुपर्ने आधिकारिक पत्र व्यवसायीको हातमा नपरेको संघका महासचिव रोहन गुरुङले बताए ।
यस्तै भिएलएन नेपालमा लागू गर्न मलेसियाको आधिकारिक धारणा हो वा होइन भन्ने विषयमा व्यवसायीसहितको समिति बनाएर छलफल गर्नुपर्ने व्यवसायीहरूको माग छ । व्यवसायीहरूले आन्दोलनको सुरुआतमा भिएलएन नेपाल र बायोमेट्रिक प्रणाली दुवै खारेजी गर्नुपर्ने माग राखेका थिए । अहिले खारेज नगरेको खण्डमा पनि व्यवसायीहरू स्विकार्ने पक्षमा पुगेका छन् । तर साना व्यवसायीहरू विरोधमै छन् ।
व्यवसायीहरूका ३३ बँुदे मागमा अधिकांश पूरा भए पनि फ्री भिसा, फ्री टिकटलगायतका केही माग पूरा हुन नसकेको महासचिव गुरुङले बताए । उक्त विषयमा सरकारले फ्री भिसा, फ्री टिकटको निर्णयलाई कायम राख्ने र संघका सात जना अधिकारी, वैदेशिक रोजगार विभाग, श्रम तथा रोजगार मन्त्रालय र सरोकारवाला निकायका अधिकारीहरूसहित १५ जनाले ६ खाडी देश र मलेसियामा अध्ययन गरेर फर्केपछि कसरी अघि बढ्ने भन्ने निष्कर्ष निकाल्ने जनाएको छ ।
श्रमराज्य मन्त्री गुरुङबाट आफ्नो माग पूरा हुने नदेखेपछि व्यवसायीहरू कामदारलाई विदेश पठाउने भएका छन् । कामदार गाउँबाट आइसकेका कारण उनीहरू काठमाडौं बस्दा आर्थिक भार बढ्ने भएकाले असार २१ गते अघि अन्तिम श्रम स्वीकृत दिएका कामदारलाई विदेश पठाउन संघमा आवद्ध म्यानपावरलाई आग्रह गरेको महासचिव रोहन गुरुङले सौर्यलाई बताए ।

प्रतिक्रिया