विवादमा अशोक टेक्सटायलकोे टेन्डर

काठमाडौं, ५ साउन । विराटनगरस्थित अशोक टेक्सटायलको जमिन र भौतिक सम्पत्तिमा आह्वान गरिएको टेन्डरमा विवाद देखिएको छ । ठूलो रकम कर्जा प्रदान गर्ने बैंकले उठाउन सक्ने ठाउँ हुँदाहुँदै आधा रकममा टेन्डर दिने तयारी भएपछि विवाद देखिएको हो ।

२० करोड ५९ लाख रुपैयाँबाट बढाबढका लागि आह्वान गरिएको टेन्डरमा तोकिएभन्दा पाँच लाख मात्रै बढी कबोलेर विराटनगरकै व्यापारी राजकुमार अग्रवालले फर्म बुझाएका छन् । टेन्डर बुझाउन खोज्ने अन्य १२ ले फर्म बुझाउन नपाएको भन्दै शुक्रबार कमलपोखरीस्थित ऋण असुली न्यायाधीकरण कार्यालयमा विरोध जनाए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा फर्म बुझाउने अग्रवाल पनि थिए तर उनलाई प्रहरीले बाटैबाट छाडिदिएको बताइएको छ । अन्य तीन जना दरबारमार्गस्थित वृत्तमा हिरासतमा राखिएका थिए । राष्ट्रिय वाणिज्य बैंकको अति खराब कर्जाको सूचीमा परेको अशोक टेक्सटायलले वर्षौं अघि बैंकबाट ८ करोड ६५ लाख ऋण लिएको थियो । उद्योग घाटामा जान थालेपछि भारतीय लगानीकर्ता पवनकुमार लोहिया बैंकको ऋण नतिरी भारत फर्केका थिए । उनी अहिले कलकत्तामा बस्छन् । अहिले सावा र ब्याज जोडेर करोडौँ तिर्नुपर्ने अवस्था छ । अशोक टेक्सटायलको नाममा विराटनगरमा प्रतिकठ्ठा ३० लाखमा जाने १५ बिघा जमिन छ । धितो लिलाम गरेर बैंकले ऋण असुल गर्न नसकेपछि ऋण असुली न्यायाधीकरणलाई जिम्मा दियो ।
न्यायाधीकरणले जमिन सम्पत्ति मूल्यांकन गरेर २० करोड ५९ लाखका लागि ३५ दिने सूचना जारी गरेको थियो । टेक्सटायलका मालिक पवनकुमार लोहियाले जमिन बैंकबाट उकास्ने जिम्मेवारी विराटनगरका एक उद्यमीलाई दिएका छन् । ती उद्योगीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज शर्मासँग भेटेर पुरानो ऋण सबै तिर्ने भन्दै ब्याज मिनाहाका लागि आग्रह गरेका थिए ।
ऋणीले नै लिलाम सकार्दा वा पुरानो ऋण तिर्दा राज्यलाई दोब्बर आय हुने थियो । टेक्सटायलले आन्तरिक राजस्व कार्यालयलाई ४ करोड, नगरपालिकालाई २५ लाख, विद्युत् प्राधिकरणलाई १ करोड, खानेपानी, मालपोत गरी ४१ करोड रुपैयाँ तिर्न लोहियाका प्रतिनिधि तयार थिए तर न्यायाधीकरणले जम्मा २० करोड ६४ लाखमा जमिन व्यापारी राजु गोयललाई दिने अन्तिम तयारी गरेको छ ।
ऋण असुली न्यायाधीकरणका सचिव आश्माराम तामाङ जेठ २५–२८ सम्म विराटनगरमै थिए । उनी जमिनको मूल्यांकनका लागि विराटनगर गएका थिए । त्यस बेला उनले अहिले टेन्डर बुझाउने एकमात्र व्यापारी अग्रवालसँग उनकै निवासमा बेलुका साढे सात बजे गोप्य कुराकानी गरेको स्रोतले बताएको छ ।
शुक्रबार टेन्डर बुझाउन चार जना व्यापारी न्यायाधीकरण पुगेका थिए । तर, उनीहरूलाई बस्दै गर्नुस् भनेर तोकिएको १ बजेको समय कटाइएको टेन्डर बुझाउन नपाएकाहरूको गुनासोे छ तर दरबारमार्ग वृत्तका डिएसपी रमेश बस्नेतले समय कट्न लागेको पटकपटक प्रहरीले कराएरै भनेको बताए । सो टेन्डर भर्न १२ जनाले फर्म लिएका थिए यद्यपि भर्ने व्यक्ति एक मात्रै राजकुमार अग्रवाल भए । टेक्सटायल मालिकका प्रतिनिधिलाई वाणिज्य बैंकले पनि ऋण असुल गर्न न्यायाधीकरणमा नलैजाने आश्वासन दिएको मात्रै थिएन, पैसा जम्मा गर्नसमेत लगाएको थियो । बैंककै सल्लाहअनुसार लोहियाका प्रतिनिधिले २ करोड ६ लाख रुपैयाँ जेठ २८ मा जम्मा गरेका थिए । सोको भौचर उनीसँग सुरक्षित छ ।
न्यायाधीकरणका सचिव आश्माराम तामाङ विराटनगरबाट काठमाडौं फर्केलगत्तै २९ गते ३५ दिने सूचना निकाले । ऋण असुल गर्दा राज्यलाई १० देखि १५ करोड प्राप्त हुन्थ्यो भने बैैंकले पनि २० करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने थियो । उता दरबारमार्ग वृत्तका डिएसपी बस्नेतले स्थिति तनावपूर्ण नहोस् भनेर मात्रै केहीलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
यता, अग्रवालले भने आफूले सरकारी नियम पूरा गरेरै टेन्डर भरेको बताएका छन् । उनले सौर्यसँग भने, ‘हामीले सूचनाको आधारमा सबै काम पूरा गरेका हौँ, अरू कुरा केही पनि थाहा छैन, प्रक्रिया मिच्ने काम हामीबाट भएको छैन ।’

प्रतिक्रिया