‘भारतको सहयोग पाइन्छ’

काठमाडौं, ५ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका लागि भारतको सहयोग पाइने बताएका छन् ।

भारतीय संस्थापनको निमन्त्रणमा पाँचदिने भ्रमण सकेर सोमबार फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भारत भ्रमण सफल भएको दाबी गरे । उनले भने, ‘नयाँ बन्ने संविधानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीको चासो छ ।’
पत्रकार सम्मेलनमा प्रचण्डले नेपालको संविधान निर्माणका लागि भारतको सहयोगको आवश्यकतासमेत महसुस गरे । उनले भने, ‘नेपालको संविधान निर्माण तथा विकासका लागि भारतको अझै सहयोग र सद्भाव आवश्यक परेको र त्यो पाउने आशा मलाई छ ।’ भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिटोभन्दा छिटो संविधान बनाउने कुरामा जोड दिएको समेत उनले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले सकेसम्म सबैको सहमतिबाट संविधान बनाउन सुझाव दिएको उनले बताए । अध्यक्ष प्रचण्डले संविधानको मस्यौदा जनतामाझ पुगिसकेकोमा भारतीय राष्ट्रपतिले आफूलाई बधाई पनि दिएको समेत उल्लेख गरे ।
प्रचण्डले भारतीयहरूसँग नेपालको सीमा समस्याका विषयमा छलफल भएको बताए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकको समस्या प्याकेजमा समाधान गर्न प्रस्ताव राखेको पनि प्रचण्डले बताएका छन् । ‘मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य सम्बद्ध पक्षसँग नेपालको सिमानाका विषयमा छलफल गरेको छु,’ प्रचण्डले भने, ‘लिपुलेक, सुस्तालगायत सिमानाका बारेमा छलफल गरेको छु ।’
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस विषयमा चाँडो समाधान खोज्ने बताए पनि मोदीले भने सीमाको विषय एकैचोटि समाधान गर्नुपर्ने बताएको प्रचण्डले बताए । ‘लिपुलेकका विषयमा पहिले पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग कुराकानी भएको थियो,’ प्रचण्डले अगाडि थपे, ‘उहाँले चाँडो यस विषयमा समाधान खोज्ने भन्नुभएको थियो तर प्रधानमन्त्री मोदीले त्यसरी भन्नुभएन, सीमाको विषय तथा लिपुलेकका समस्या एकैचोटि हल गर्नुपर्छ भन्नुभएको छ ।’
प्रचण्डले भारतमा जनयुद्धकालमा लगाइएको केही संगठनहरूमाथिको प्रतिबन्ध अझै फुकुवा नगरिएकोबारे मोदीसँग कुरा राखेको पनि बताएका छन् । प्रचण्डले भारतमा बस्ने नेपालीहरूको समस्याका बारेमा पनि छलफल र कुराकानी भएको पनि जानकारी दिए । भारत भ्रमणका क्रममा प्रचण्डले भूकम्पले गुजरातमा पु-याएको क्षतिको पुनर्निर्माणबारे अवलोकन गरेका थिए । प्रचण्ड २९ असारमा श्रीमती सीता दाहालसहित ४ सदस्यीय टोलीका साथ भारत गएका थिए ।

प्रतिक्रिया