दलका कार्यकर्ता हाबी, जनताको सहभागिता भएन

जाजरकोट, ४ साउन । संविधानको मस्यौदाको सुझाव सङ्कलनका लागि जाजरकोटमा आयोजित कार्यक्रममा सुझाव दिनेमा अधिकांश दलका कार्यकर्ता रहेको पाइएको छ ।

नेपालको संविधान २०७२ को पहिलो मस्यौदामाथिको छलफलमा ग्रामीण भेगका नागरिकको सहभागिता निकै कम रहेको छ ।

जाजरकोट क्षेत्र नं १ को सदरमुुकाम खलङ्गा र क्षेत्र नं २ को दसेरा बडावनमा आयोजित कार्यक्रममा सुझाव दिनेमा दलीय कार्यकर्ता बढी हाबी भएको पाइएको हो । दलहरूले आफ्ना पार्टी कार्यकर्तालाई प्रशिक्षित गरेर संविधानमा सुझाव दिन निर्देशन दिएका छन् ।

राप्रपा नेपालको केन्द्रीय समितिले संविधानको मस्यौदामा भाग नलिन कार्यकर्तालाई दिएको निर्देशन विपरीत जाजरकोटमा पार्टीको तर्फबाट जिल्ला अध्यक्ष शोभा शाहीले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दू राज्य कायम गर्नुपर्ने सुझाव पेस गरे ।

सोही पार्टीका पूर्वअध्यक्ष दीपक खनालले राप्रपा नेपालले उठाउँदै आएका माग मस्यौदामा नसमेटिएको भन्दै कार्यक्रम स्थलमै मस्यौदा च्यात्न खोज्दा प्रहरीले बल प्रयोग गरेर हलबाट बाहिर निकालिएपछि केहीबेर तनाब सिर्जना भएको थियो ।

नागरिकको सुझाव सङ्कलन कार्यक्रम मङ्गलबार पनि जारी हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

मस्यौदामाथिको सुझाव सङ्कलन स्थल अपायक पर्ने स्थान र निकै टाढा भएकाले दुर्गमका नागरिक यस प्रक्रियाबाट बञ्चित भएका छन् ।

सुझाव सङ्कलन स्थल जिल्ला सदरमुकाम खलङ्गा र दसेरा पुग्न दुर्गमका गाविसका मानिसलाई तीन दिनसम्म पैदल हिँड्नुपर्ने, सबै ठाउँमा मस्यौदा नपुगेको र मस्यौदामा दिइएको सुझाव पनि कार्यान्वयन नहुने भएकाले यस प्रक्रिया स्थानीयले खासै चासो नदिएको पत्रकार दीपेन्द्र शर्मा बताए ।

कार्यक्रम स्थलमा सुझाव दिन आएका स्थानीयलाई प्रहरीले निकै खानतलासी गरेर सास्ती दिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया