वन संरक्षणबाट जीविकोपार्जनमा सुधार हुने

काठमाडौं, ४ साउन । वन विनाश तथा वन क्षयीकरण न्यूनीकरणमार्फत कार्बन उत्सर्जन कटौती (रेडप्लस) गर्ने उद्देश्यले तराईका १२ वटा जिल्लालाई केन्द्रित गरी विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

तराई भू–परिधि कार्यक्रम (ताल) सञ्चालित रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कञ्चनपुर जिल्लामा वन संरक्षण गरी कार्बन सञ्चितीकरणबाट स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याउन रेडप्लस कार्यक्रम प्रभावकारी हुने राजधानीमा सम्पन्न कार्यशालाका विज्ञहरुले बताएका छन् ।

रेडप्लसबारे नागरिक समाजका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिमार्फत हरेक तहको निर्णय प्रक्रियामा सरिक गराउने उद्देश्यले राष्ट्रिय जन वकालत मञ्च (नाफान) र साझेदारी वन उपभोक्ता महासङ्घद्वारा आयोजित क्षेत्रीय कार्याशालाका अवसरमा रेडप्लसमार्फत कार्बन व्यापार र गैरकार्बन क्षेत्रबाट आर्थिक लाभ लिन सकिने सम्भावनाहरुका बारेमा चर्चा गरिएको थियो ।

रेड कार्यान्वयन केन्द्रका प्रमुख मानबहादुर खड्काले जलवायु परिवर्तनबाट सिर्जित समस्याको क्षतिपूर्तिको अवधारणाअनुसार रेडप्लस कार्यक्रममा नेपाल सहभागी हुनसकेको बताउँदै यसबाट लाभ लिन स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको उल्लेख गरे ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) हरियो वन कार्यक्रमका संयोजक केशव खनालले रेडप्लस अवधारणा र विकास क्रमबारेमा कार्यपत्र प्रस्तुत गर्दै वन विनाश र वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जनमा कमी ल्याउन, वन कार्बन संरक्षण, दिगो व्यवस्थापन र कार्बन सञ्चितीको अभिवृद्धिलाई रेडप्लसले जोड दिएको बताए ।

नाफानका अध्यक्ष भोला भट्टराईले रेडप्लससम्बन्धी रणनीति निर्माणमा आदिवासी, जनजाति तथा वनमा आश्रित समुदायको जीविकोपार्जनमा सुधार ल्याउन रेडप्लस कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

रेडप्लस कार्यान्वयन केन्द्रका निर्देशक डा नरेन्द्र चन्दले रेडप्लस परियोजनाको अवधारणापत्र बनाउन विश्व बैंकसँग सम्झौता भइसकेको जानकारी दिँदै रेड रणनीतिको तर्जुमा, कार्बनको आधार रेखा तयार तथा वनको मापन–अनुगमन, अभिलेखीकरण एवम् प्रमाणीकरण, सुशासन, आदिवासी जनजाति तथा वनमा आश्रित समुदायको अधिकारको किटान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यशालामा डब्लुडब्लुएफका युगान मानन्धर, इसिमोडकी सीमा कार्की, आदिवासी जनजाति महासङ्घका टुङ्गा राई, रिकोफ्टकका विष्णुहरि पौडेल, युथ एलायन्स फर इन्भाएरोमेन्टका सनत अधिकारीले नेपालमा रेडप्लस कार्यक्रमको अवसर र चुनौतीका बारेमा अलगअलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया