प्रेस स्वतन्त्रताका पक्षमा फरकफरक मत

चितवन । नेपाल पत्रकार महासंघ र प्रेससँग सम्बन्धित संघ–संगठनले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा राखिएका प्रेस स्वतन्त्रतासँग सम्बन्धित प्रस्ताव सच्याउन दबाब दिइरहेका बेला जनमत लिन जिल्ला आएका यहाँका सभासद्ले फरकफरक मत व्यक्त गरेका छन् ।
उनीहरूले प्रेसका पक्षमा आपूm रहेको देखाए पनि संशोधन गर्न माग गरेका बुँदाको पक्षमा भने फरकफरक मत दिएका छन् । संविधान मस्यौदा समितिको कार्यदलका सदस्यसमेत रहेका नेकपा (एमाले)का चितवन क्षेत्र नं ३ का सभासद् कृष्णभक्त पोखरेलले पूर्णशब्द नराख्दैमा प्रेस स्वतन्त्रता हनन् नहुने बताए । सबै क्षेत्रमा पूर्णशब्द राखेमा संविधान नै भद्रगोल हुने बताउँदै उनले सभासद् प्रेसको पक्षमा नै रहेको जिकिर गरे ।
चितवन– ४ का नेपाली कांग्रेसका तर्फबाट विजयी सभासद् रामकृष्ण घिमिरेले प्रेस स्वतन्त्रताको पक्षमा आफू र आफ्नो पार्टी रहेको भन्दै कमा, पूर्णविराम, वा, तरजस्ता शब्द राखेर प्रेसलाई नियन्त्रण गर्ने काम गर्न नहुने बताए । प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ भन्दै त्यसका लागि प्रेससँग सरोकार राख्ने संघ–संगठनले उठाएका मागको पक्षमा आपूm लाग्ने घिमिरेले उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं चितवन– ५ का सभासद् विक्रम पाण्डेले प्रेसलाई पूर्ण स्वतन्त्र बनाउनुपर्ने धारणा राखे । विगतभन्दा अबको संविधानले प्रेसलाई अरू बढी स्वतन्त्र बनाउँछ भन्ने पक्षमा आफू रहेको पाण्डेको भनाइ छ । जनमत लिन पाँच प्रत्यक्षसहित् १३ जना सभासद् चितवन आइपुगेका छन् । सोमबार र मंगलबार जिल्लाका पाँच निर्वाचन क्षेत्रका १० ठाउँबाट रायसुझाव संकलन गर्ने कार्यक्रम रहेको छ । (सौस)

प्रतिक्रिया