मालढुङ्गामा सुक्खा पहिरो, त्रिसट्ठी परिवार विस्थापित

Pahiro Dailekhaपर्वत, ३ साउन । भूकम्पका कारण चिरा परेको पहाड खसेर पहिरो जाँदा पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ नुवारको डिलबाट बिहान ९ बजे झरेको पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्बासीको बस्ती जोखिममा परेको हो ।

पहिरोका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एकमात्र सडक मालढुङ्गा–बेनी सडकसमेत अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रु बिहानैदेखि अलपत्र परेका छन् ।

नुवारको डिलमा भूकम्पका कारण चिरा परेको जमिनबाट पहिरो खसेर मालढुङ्गामा कालीगण्डकी नदी किनारको सुकुम्बासी बस्तीमा पुगेको छ । पहिरो खसेपछि ६३ घर सुकुम्बासी परिवार विस्थापित बनेका छन् ।

कालीगण्डकी नदी किनारमा बालुवा चालेर तथा बङ्गुर पालेर जीविकोपार्जन गर्दै आएका सुकुम्बासी परिवार घरबारविहीन बन्न पुगेको स्थानीय सुकलाल परियारले बताए ।

अझै चिरिएको जमिन बाँकी रहेकाले जुनसुकै बेला ठूलो पहिरो जान सक्ने र बस्ती सबै पुरिने सम्भावना रहेको परियारले बताए ।

पहिरोका कारण मालढुङ्गा क्षेत्रमा रहेका एक सयभन्दा बढी परिवार जोखिममा परेका छन् । अहिले पहिरो गएपछि मालढुङ्गाको माझी बस्तीमा बस्दै आएका स्थानीय जनता लत्ताकपडा र सामान बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

कालीगण्डकीको डरलाग्दो ठाडो भिरमा पहिरो खसेका कारण संरक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालय पर्वतका प्रमुख रमेश बरालले बताए ।

कालीगण्डकीमाथिको सबै भिर भूकम्पका कारण चर्किएको र संरक्षणका लागि जाली लगाउने ठाउँसमेत नभएकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने प्रमुख बरालको भनाइ छ ।

कालीगण्डकी नदी किनारमा पहिरो गएपछि बस्ती स्थानान्तरण गर्ने र मानवीय क्षति हुन नदिनेतर्फ प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । अहिले अवरुद्ध सडक खुलाउन सडक विभाग बागलुङबाट डोजर मगाएर काम थालिएको छ ।

गएको वैशाखमा गएको भूकम्पका कारण कालीगण्डकी किनारा पर्वतको कुस्मादेखि वारि बेनीसम्मको सडक तथा र मोदीखोलाको किनारमा डिमुवादेखि नयाँपुलसम्मको सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको भन्दै भूगर्भविद् तथा सडक विभागमा पटक पटक पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रयास भएको छैन ।

प्रतिक्रिया