जिविसको काममा २० प्रतिशत सन्तुष्ट

चितवन । जिल्ला विकास समिति चितवनको कामकारबाही प्रति २० प्रतिशतले मात्रै सन्तुष्टि व्यक्त गरेका छन् । गएको महिनामा यहाँ करिब १५ दिन लगाएर गरिएको अनुगमनमा यस्तो पाइएको हो ।

भ्रष्टाचारविरुद्ध अभियान चितवनले गरेको अनुगमनपछि बिहीबार सार्वजनिक भएको नागरिक प्रतिवेदनमा जिविस चितवनको कामकारबाही प्रति ८० प्रतिशत जनताले ठिकै अर्थात सामान्य भन्ने प्रतिक्रिया दिएका छन् । प्रतिवेदनमा कर्मचारीहरू कार्यालयमा नियमित अनुपस्थित नहुने गरेको पाइएको छ । ५० प्रतिशतले कर्मचारी नियमित कार्यालयमा नआउने गरेको बताएका छन् । गाविसमा सेवा लिन आएका ५० र सेवा लिएर गएका ५० गरी एक सयजनासँग सबै वर्ग र क्षेत्रका प्रतिनिधि सहभागी गराएर उक्त प्रतिवेदन तयार पारेको अभियानका संयोजक भीमबहादुर श्रेष्ठले बताए ।
उक्त प्रतिवेदनमा कार्यालयका कर्मचारीप्रतिको विश्वास धेरै छ भन्नेमा २० प्रतिशत मात्रै रहेको पाइएको छ । विपन्न वर्गका लागि छुट्याइएको सेवा प्रयोग गरेको थाहा पाउनेमा जम्मा २० प्रतिशत रहेको पाइएको छ । ४० प्रतिशतले अलिअलि थाहा पाएको बताएका छन् । गाविसमार्पmत सञ्चालन भएका योजनाको प्रभावकारिताका विषयमा सोधिएको प्रश्नमा २४ प्रतिशतले मात्रै प्रभावकारी भएको बताएका छन् । ५६ प्रतिशतले ठिकै र २० प्रतिशतले प्रभावकारी नभएको प्रतिक्रिया दिएका छन् । सो प्रतिवेदनबारे जानकारी दिँदै स्थानीयवासी शालिग्राम पौडेलले विकास निर्माणका बिल भुक्तानी लिन ७८ प्रतिशतले आर्थिक वर्षको अन्त्यमा आएको भन्दै यस्ता गतिविधि सच्याउन सुझाव दिए ।
सो प्रतिवेदनबारे प्रतिक्रिया दिँदै जिविस चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले जिविसले आर्थिक वर्ष ०७१/७२ मा ६ सय ५० योजनामा सम्झौता गरेको र सबै योजना सम्पन्न भएको दाबी गरे ।केही दिनमा आर्थिक क्रियाकलाप सार्वजनिक गर्ने उनले बताए । यो वर्षदेखि जिविसले कामकारबाही र योजनाको गुणस्तर परीक्षण सुरु गर्ने उनले जानकारी दिए । (सौस)

प्रतिक्रिया