हलियालाई डेढ लाख

महेन्द्रनगर । मुक्त हलियालाई पुनःस्थापना गर्न भूमिसुधार कार्यालय कञ्चनपुरले पुनःस्थापना कार्यक्रमअन्तर्गत घर निर्माण र मर्मत सम्भारका लागि अनुदान दिएको छ ।
आर्थिक वर्ष ०७१/७२ सालमा यहाँका ‘क’ वर्गका १५ परिवारलाई पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रतिपरिवार जमिन खरिद गर्न एक लाख ५० हजार रुपियाँ नगद अनुदान दिएको भूमिसुधार कार्यालयका प्रमुख जानकी कार्की मौनीले बताए ।
त्यसैगरी ‘ख’ वर्गका एक सय पाँच परिवारलाई घर मर्मतका लागि प्रतिपरिवार एक लाख रुपियाँ प्रदान गरिएको उनले जानकारी दिए ।
कञ्चनपुरमा रहेका दुई हजार चार सय परिवार मुक्त हलियामध्ये एक हजार तीन सय ३८ परिवार मात्रै प्रमाणीकरण गरिएका छन् । उनीहरूलाई विभिन्न वर्गमा विभाजन गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी सोही आर्थिक वर्षमा ४० परिवार मुक्त हलियालाई दुई लाख रुपियाँका दरले घर निर्माणका लागि आर्थिक सहयोग गरिएको भूमिसुधार कार्यालयले जनाएको छ । कार्यालयले कार्यविधिअनुसार ‘क’ वर्गका मुक्त हलियालाई जग्गा खरिद गर्न अनुदान, ‘ख’ देखि ‘घ’ वर्गका मुक्त हलियालाई घर मर्मतका लागि अनुदान दिने गरेको छ । (सौस)

प्रतिक्रिया