दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुग्यो

कावासोती, १ साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा दाङ विजौरी–२ का ३२ वर्षका जीवन खड्का, नवलपरासी कावासोती–८ की २३ वर्षीया सुमित्रा लामा, सुमित्रा लामाकी सात महिनाकी छोरी अंशु लामा रहेका छन् ।

त्यसै गरी, नवलपरासी बर्दघाट–६ की ५० वर्षीया माइली लामा, दाङ त्रिभुवन नगरपालिका–२ का ४५ वर्षीय गोविन्द बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ ।

भारतीय ट्रक र बस एकापसमा ठक्कर खाँदा आठजनाको मृत्यु भएको थियो । पछि उपचारका क्रममा अर्का एकजनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या नौ पुगेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा दाङ घोराही नगरपालिका–५ बस्ने २७ वर्षीय शरणनरेश नेपाली, कावासोती–२ की सुस्मिता ढकाल, रुपन्देही हात्तीफर्साटिक– ८ का ३० वर्षीय गोपाल रेग्मी, दाङ बिजौरी–३ का सुभाष नेपाली, गोर्खा घ्यालचोकका २७ वर्षीय विनोद अधिकारी, चितवन भरतपुर नगरपालिका–२ का ४५ वर्षीय एकबहादुर खत्री र ट्रक चालक भारत देवरिया कञ्चनपुर गाउँ उत्तर प्रदेशका ५१ वर्षीय ब्यास शर्मा रहेको प्रहरीले जनाएको छ ।

उकालो चढ्दै गरेको बस र ओरालो झर्दै गरेको ट्रक एकापसमा जुध्दा बसमा सवार यात्रुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार यान्त्रिक समस्या नभए ट्रक दोषी रहेको छ । ‘ट्रकले कन्ट्रोल गर्न सकेन वा बे्रक फेल भएर दुर्घटना भयो’, उनले भने ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणघाटबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नंको बस र विपरीत दिशातर्फ गुडिरहेको सिमेन्ट फ्याक्ट्रीको कच्चा पदार्थ बोकेको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया