सुझाव संकलनमा मधेसी दलको अवरोध

रौतहट, १ साउन । संविधानको पहिलो मस्यौदाको सुझाव संकलनसम्बन्धी छलफल गर्न बोलाइएको सर्वपक्षीय कार्यक्रम मधेसी दलका कार्यकर्ताहरूले बिथोलेका छन् । संविधानसभा रायसुझाव संकलन उपसमितिले संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्न बिहीबार जिल्ला सदरमुकाम गौरमा सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

गौर नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रम सुरु हुनासाथ सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले आयोजकको हातबाट माइक खोस्दै आफूहरूलाई संविधानको पहिलो मस्यौदाप्रति गम्भीर आपत्ति रहेको बताएका थिए । यादवले संविधानको पहिलो मस्यौदाले मधेसप्रति उपेक्षा गरेको हुनाले त्यस्तो संविधान आपूmलाई मान्य नहुने बताउँदै विरोध गरेपछि मधेसी दलका अन्य नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै सभाकक्षमा नै मस्यौदा च्यातेका थिए ।
नेपाली कांगे्रसका सभासद जितेन्द्र यादव, पूर्वसभासद कृष्ण यादवसमेतको उपस्थितिमा प्रमुख जिल्लाअधिकारी मदन भुजेलसमेत मञ्चमा रहेको बेलामा मधेसी दलका कार्यकर्ताले संविधानको मस्यौदा च्यातेर नाराबाजी गर्दा पनि प्रहरी मूकदर्शक बनेर बसेको थियो । आक्रोशित समूहले कार्यक्रमको ब्यानरलगायतका कागजपत्रहरू बाहिर ल्याएर जलाउँदासमेत प्रहरीले कुनै हस्तक्षेप गरेन । सभाकक्षमा रहेका कुर्सी टेबललगायतका कागजपत्र मधेसी दलका कार्यकर्ताले आगजनी गर्न थालेपछि कार्यक्रममा आएका सहभागीहरू कार्यक्रम छाडेर हिंडेका थिए ।
कार्यक्रम बिथोलिएपछि नागरिक समाजका केही व्यक्ति र सर्वसाधारण व्यक्तिहरू राखी कार्यक्रम छोटकरीमा सञ्चालन गरी टुंग्याइएको थियो ।

प्रतिक्रिया