व्यापारघाटा ६ खर्ब १६ अर्ब

import_export_32435204_stdकाठमाडौं, ३० असार । चालु आर्थिक वर्ष ०७१/०७२ को व्यापार घाटा चुलिएको छ । चालु आवको ११ महिनाकोे कुल व्यापार घाटा छ खर्ब १६ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले वृद्धि भई देशको व्यापार घाट थप चुलिएको हो ।

परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएका कारण समग्र निकासीमा नकारात्मक असर परेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । समीक्षा अवधिमा अधिकांश प्रमुख वस्तुको आयातमा भने उल्लेख्य वृद्धि भएको केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिए ।
सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई सात खर्ब ७२ अर्ब १३ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.१ प्रतिशत र ८९.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल निकासीमा ५.८ प्रतिशतले कमी आई ७८ अर्ब छ करोड तथा कुल पैठारीमा ५.८ प्रतिशतले वृद्धि भई छ खर्ब ९४ अर्ब छ करोड पुगेको छ ।
गत आवको ११ महिनाको अवधिमा निकासी तथा पैठारी व्यापारको अनुपात १ः७.९ भएकामा चालु आवको सोही अवधिमा पनि निकासी–पैठारी व्यापारको अनुपात १ः८.९ पुगेको छ । सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा उनी, गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी आदि प्रमुख छन् ।
सोही अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादन, पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पार्टपुर्जा, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, औषधि, मसिनरी तथा पार्ट्स, पोलिथिन आदि पैठारी भएका छन् ।

प्रतिक्रिया