मस्यौदामा अल्पसंख्यकको चासो

दोलखा, ३० असार । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाप्रति जिल्लाका सीमान्तकृत र अल्पसंख्यक समुदायका प्रतिनिधिले आपत्ति जनाएका छन् । संविधानसभाले जारी गरेको नयाँ संविधानको मस्यौदामा आफ्ना हकअधिकार कटौती गरिएको भन्दै सीमान्तकृत र अल्पसंख्यक समुदायले त्यसलाई सच्याउन माग गरेका छन् ।

सभासद्हरू संविधानको मस्यौदा बोेकेर समुदायस्तरमा छलफलका लागि आउने भएकाले त्यसलाई लक्षित गर्दै छलफल कार्यक्रम आयोजना गरिएको हो ।
सपोर्ट नेपालसँगको सहकार्यमा हुराडेक र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दोलखाले मंगलबार सदरमुकाम चरिकोटमा आयोजना गरेको छलफल कार्यक्रम सहभागी जिल्लाका सीमान्तकृत समुदायले विभेदपूर्ण संविधान जारी नगर्न आग्रह गरेका छन् । नेपालको संविधान ०७२ को प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग सरोकार राख्ने प्रावधानबारे छलफल गर्न आयोजित कार्यक्रममा राज्य पुर्नसंरचना गरी सीमांकन र नक्सांकनसहितको संविधान जारी गर्न माग गरिएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दोलखाका अध्यक्ष जंगबहादुर गुरुङले आदिवासी जनजाति र अल्पसंख्यक समुदायको हक अधिकार कुण्ठित हुने गरी संविधान जारी भए आफूहरूलाई मान्य नहुने बताए ।
छलफल कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति दोलखाका उपाध्यक्ष आङनिमा शेर्पाले समुदाय स्तरको छलफलबाट प्राप्त भएको सुझावलाई समावेश गरेर मात्र संविधान जारी गर्नुपर्ने बताए । छलफलमा महिला अधिकारकर्मी सिर्जना कार्कीले नयाँ संविधानमा बलात्कारीलाई कडा खालको सजायको व्यवस्था हुनुपर्ने बताउँदै बहुविवाहले मान्यता नपाउने व्यवस्था भएकाले महिला हिंसा कम हुने बताइन् । ‘संविधानको साइज ठूलो भए पनि होस् दुई चार शब्द बढी लेख्दैमा केही हुँदैन, महिलालाई पूर्णअधिकार दिने संविधान चाहिन्छ,’ कार्कीले भनिन् । छलफल कार्यक्रममा स्थानीय शान्ति समिति दोलखाका सदस्य तथा नेकपा एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठले स्थायी शान्तिको लागि विभेदको अन्त्य हुनुपर्ने बताउँदै पूर्णअधिकारसहितको नयाँ संविधानले विभेद हटाउने बताए ।
कार्यक्रममा अधिवक्ता सरोज उप्रेतीले नयाँ संविधान मस्यौदा समावेश भएका अल्पसंख्यक र सीमान्तकृत समुदायसँग सरोकार राख्ने प्रावधानका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिरेल, थामी, सुरेल, माझी, भुजेल, गुरुङलगायका समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया