प्राविधिक शिक्षामा जोड दिनुपर्ने

काठमाडौं । नयाँ बन्ने सटंविधानमा प्राविधिक र अनुुसन्धानात्मक शिक्षालाई जोड दिनुपर्नेमा विद्यार्थी नेताहरूले जोड दिएका छन् ।
संयुक्त विद्यार्थी संगठनले काठमाडौंको होटल हार्दिकमा मंगलबार आयोजना गरेको ‘संविधान मस्यौदामा शैक्षिक सवाल सुझाव संकलन’ कार्यक्रममा संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधानमा शिक्षाको अवसरबाट कसैलाई पनि वञ्चित गर्न नहुनेमा जोड दिँदै सार्वजनिक शिक्षा सुधार गरी प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
उनले भने, ‘विश्वविद्यालयमा अनुसन्धान कार्यहरू हुन सकेका छैनन्, त्यसमा राज्यले ध्यान दिनु आवश्यक छ ।’ अधिकारीले राज्यको पुनर्संरचनामा विश्वविद्यालयबाट सुझाव आउन नसकेको बताए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद् रञ्जीत कर्णले गाउँगाउँबाट लाखौँ विद्यार्थीको भावनालाई संविधानको मस्यौदामा समेट्नुपर्ने भन्दै उच्च माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
सभासद् उमेश श्रेष्ठले शिक्षा क्षेत्रको विकासले मात्र देशको उन्नति हुने भन्दै गरिबसम्म शिक्षाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेवि संघका प्रवक्ता युपी लामिछाने, अञ्जान लामा, दिवाकर अर्याल, अनेरास्ववियुका महासचिव नवीना लामा तथा आरसी लामिछानेलगायतले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनुपर्नेमा जोड दिँदै आर्थिक रूपले विपन्न तथा अपांग, दलित, पिछडिएका वर्गलाई निःशुल्क उच्च शिक्षा प्राप्तिको अवसर दिनुपर्ने र व्यावसायिक सीपमूलक शिक्षाको व्यवस्था गरिनुपर्ने बताए । (सौस)

प्रतिक्रिया