दुई युवतीको सीमावर्ती सहरबाट उद्धार

महेन्द्रनगर, २९ असार । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी महाकाली) को टोलीले आज बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ ।

दलालले पश्चिमीनाका गड्डाचौकी भएर भारत हुँदै मलेसिया पठाई दिने भन्दै लगिरहेको अवस्थामा मकवानपुरका दुई युवतीलाई उद्धार गरिएको हो ।

युवतीहरूलाई लगिरहेका एक युवकसमेत अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको आरआइटी महाकालीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिए ।

उद्धार गरिएका युवती मकवानपुर नाम्टार गाविसका विशुन थिङ र लक्ष्मी ब्रोन रहेका छन् ।

उनीहरूलाई ललाइफकाइ लग्दै गरेका युवकलाई समेत टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई बुझाएको टोली संयोजक जोहारीले बताए ।

अनुसन्धान टोलीले तीनै जनालाई महेन्द्रनगरबाट वनबासासम्म पिछा गरेको थियो ।

प्रतिक्रिया