संविधानमाथिको सुझाव संकलन कार्य सुरू

BICCबनेपा, २८ असार । संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथिको सुझाव सङ्कलन कार्य काभ्रेपलाञ्चोकमा आजदेखि सुरू भएको छ ।

त्यसका लागि काभ्रेको धुलिखेलमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्सहितको सर्वपक्षीय बैठकले संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको हो ।

काभ्रेपलाञ्चोक क्षेत्र नं ४ का सभासद् विदुर सापकोटाले अहिलेको संविधान परिवर्तनकारी शक्तिको संविधान भएको उल्लेख गर्दै समाजमा व्याप्त सबैखालको द्वन्द्वको व्यवस्थापनका लागि नयाँ संविधान निर्माण हुन लागेको बताए ।

क्षेत्र नं ३ का सभासद् कञ्चनचन्द्र वादेले अहिलेको संविधान शक्ति सन्तुलनको संविधान भएको धारणा व्यक्त गर्दै यो संविधान पहिचानमा आधारित रहेको बताए ।

क्षेत्र नं २ का सभासद् रामहरि सुवेदीले संविधानको मस्यौदालाई ग्रामीण क्षेत्रमा पुराएर जनताको राय लिनुपर्ने सुझाव दिए ।

क्षेत्र नं १ का सभासद् तीर्थ लामाले संविधान जात विशेष, लिङ्ग विशेष, वर्ण विशेष वा पार्टी विशेषको नरहेको भन्दै सुझाव सङ्कलनबाट परिष्कृत गरेर नयाँ संविधान जारी हुने बताए ।

सभासद् केशव बडालले संविधानले विभेदको अन्त्य गरेको उल्लेख गर्दै सङ्घीयतामा आशङ्का नगर्न आग्रह गरे ।

सभासद् कमला दोङले सङ्घीयताको सीमाङ्कन र नामाङ्कनका विषय संविधानसभाबाट नै टुङ्गयाउनुपर्ने कुरामा जोड दिँदै आयोगबाट टुङ्गयाए संविधानसभाको क्षेत्राधिकारमथि प्रश्न उठ्न सक्ने बताइन् ।

सभासद् रेशम लामाले जनमत सङ्कलनमा खर्च हुने पैसालाई विकास निर्माणमा लगाउन सकिने तर्क गरे ।

प्रतिक्रिया