सूर्योदय स्रष्टामा अशोक

Suryodaya-School-Dillybazarकाठमाडौं । सूर्योदय आवासीय माध्यमिक विद्यालय डिल्लीबजारले नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताका साथ मनाएको छ ।
विगत २० वर्षदेखि बाल प्रतिभाप्रति सम्मानका लागि उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय स्थलगत कवितालेखन प्रतियोगिता आयोजना गर्दै आएको विद्यालयले शनिबार यस वर्ष पनि २०२औँ भानुजयन्तीका सन्दर्भमा स्थलगत कवितालेखन तथा वाचन कार्यक्रम गरेको हो । उपत्यकाका ३० विद्यालयका ६० विद्यार्थी सहभागी रहेको प्रतियोगितामा कविताको शीर्षक कार्यक्रमस्थलमै दिइएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थी क्रमशः अशोक नेपाल, कुमारी बुढाथोकी, आशिष पन्त, स्मृति खडका र शिक्षा भट्टराईलाई सम्मानका साथै नगद पुरस्कार मेडल र प्रमाणपत्रसहित पुरष्कृत गरिएको विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा साहित्यकार एवं संस्कृतिविद् डा. तुलसी भट्टराईले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक भरतकुमार भट्टराई, साहित्यकार एवं समालोचक जीवनाथ धमला, व्यंग्य कवि प्रेम वली, साहित्यकार प्रभा भट्टराईलगायतको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया