वर्षाले रोकियो तरकारी र फलफूल

बाजुरा २७ असार । जिल्ला सदरमुकाम मार्तडीलगायतका स्थानीय बजारमा तरकारी र फलफूलको अभाव देखिएको छ । साँफे मार्तडी सडक अवरुद्ध भएपछि फलफूल र तरकारी आयात बन्द हुँदा बजारमा अभाव देखिएको हो । स्थानीयले बजारलाई पुग्ने गरी तरकारी उत्पादन गर्न नसक्दा यहाँका बासिन्दालाई बढी समस्या परेको छ ।

बडिमालिका नगरपालिकाको रजाली र बडिमालिका नगरपालिकाकै बढीगंगाको ओलेनामा तरकारी उत्पादन हुनेभए पनि मौसमी र सीमित मात्र उत्पादन हुने गरेको छ । रजालीका ५० बढी र ओलेनाका पाँच परिवारले सामान्य तरकारी खेती गर्ने गरेका छन् । उनीहरूले मौसमी रूपमा हिउँदको समयमा काउली, बन्दा, काउली, रायोको साग आदि जातको तरकारी उत्पादन गर्नेभए पनि वर्षामा पानीले कुहिने डरले कमै लगाउने गरेका छन् । जिल्लामो मार्तडी, कोल्टी, तिपाडा बजारका बासिन्दाले गएको एक महिनायता प्रर्याप्त तरकारी र फलफूल खान पाएका छैनन् । धनगढीबाट आउने तरकारी बन्द भएपछि बजारमा तरकारीको हाहाकार नै भएको व्यापारीको भनाई छ । जिल्लाका बजारमा कहिले काहीँ बोकेर ल्याएको महँगो मूल्यको स्याउ मात्र पाइने गरेको छ ।
प्रायः सबैजसो होटलको सलादको परिकार पनि स्याउ मात्र देखिने गरेको छ । दैनिक उपभोग्य समान व्यापारीले स्टक राखे पनि नकुहिने भएपछि उपभोक्तालाई भनेजस्तो समस्या छैन तर फलफूल र तरकारी वर्षामा यस्तै समस्या हुने गरेको छ । उत्पादन राम्रो हुने भए पनि बारीमै पानीले कुहिने, गाउँबाट बजारमा चिप्लो बाटोमा बोकेर ल्याउन समस्या हुने डर किसानको छ ।
यातायातका साधन बेतालमाडौं बजारमै रोकिएपछि तराकारी ल्याउनकै लागि मार्तडीबाट एक दिनको पैदन दूरी पार गर्नुपर्ने बाध्यता छ । नेताहरूले पनि पहुँच नहुँदा सडकको निर्माण कार्य छिटो सम्पन्न गर्न नसकेको स्वीकार गर्ने गरेका छन् । २० वर्षसम्म पनि ५७ किलोमिटर सडक निर्माण नभएको देशकै एक मात्र सडक हो, । सेवा कात्तिक नआएरसम्म सुचारु नहुने निश्चित छ ।

प्रतिक्रिया