एमालेमा नियमावली छलफल

काठमाडौं, २७ असार । नेकपा एमालेको पार्टी नियमावली पारित भएको छैन । नियमावलीमा छलफल लम्बिएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टी नियमावली पारित गर्ने भने पनि छलफल लम्बिँदा पारित हुन सकेन । सचिव पृथ्वी सुब्बा गुरुङले नियमावली पारित गर्ने योजना बने पनि छलफल लम्बिएको बताए । ‘बैठक ढिला भयो । नियमावलीमाथि छलफल लम्बियो’, उनले भने, ‘अन्य कमरेडले बोल्न बाँकी छ । त्यसैले पारित हुन सकेन ।’
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा मस्यौदा नियमावलीमाथि नेताले बोलेका थिए । शनिबार उपाध्यक्षद्वय वामदेव गौतम, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य किरण गुरुङ, अमृत बोहरालेले मस्यौदाबारे बोलेका थिए ।
स्थायी कमिटी सदस्य शंकर पोखरेलले बिहीबार बस्ने बैठकले नियमावली पारित गर्ने जानकारी गराए । उनका अनुसार नियमावलीमा सबै स्थायी कमिटी सदस्यले आफ्नो राय दिएपछि पारित हुनेछ । विधानमा नभएका कुरा नियमावलीमा समेटेर पार्टीको गतिविधि
सञ्चालन हुनेछ ।
छलफल लम्बिँदा शनिबारको बैठकमा पार्टीले पठाएका मन्त्रीबारे छलफल हुन सकेन । एमालेले सरकारमा पठाएका मन्त्रीको आलोचना भएपछि स्थायी कमिटीमा छलफल गर्न एजेन्डा बनाएको थियो । एमालेले डेढ वर्षका बीचमा चार मन्त्री हेरफेर गरेको छ । सचिव गुरुङले नियमावलीमाथि छलफल लम्बिँदा मन्त्रीबारे कुनै प्रसंग नउठेको बताए । एमालेले १० साउनमा डाकेको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागी मन्त्रीबारे छलफल हुनेछ ।

प्रतिक्रिया