संविधान बनाउनेहरूकै विरुद्धमा

dr-pradeep-dhakalअन्ततः संविधानसभाबाट संविधान बन्ने भयो । वर्षौंसम्म मिल्न नसकेका मुद्दा ठूला भनिएका दलहरूबीच पदीय भागबण्डा मिलेपछि अनि अपराधी र भ्रष्टाचारीहरू आफू जोगिने सुनिश्चित गरिसकेपछि अन्ततः संविधान जारी हुने दिशामा देश अगाडि बढिसकेको छ । संविधान बन्ने भयो, यो शुभ समाचार हो । तर, संविधान बनिसकेपछि पनि देश यिनै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एमाओवादीजस्ता पार्टीहरूको चंगुलमै परिरहने हो भने देश हित र यहाँका जनताको हितको कुनै पनि आशा गर्न सकिँदैन । संविधान बनिसकेपछि पनि आफूहरूकै वरिपरि देशको राजनीति घुमिरहनेछ र लोकतन्त्र बहालीपछिका यतिका वर्षसम्म आफूहरूले गरेको अपराधले आफूलाई लखेट्ने छैन भन्ने सोचले मात्र अहिले संविधान जारी गर्न गइरहेको अवस्था छ । आफ्नो हितलाई केन्द्रमा राखेर राष्ट्रका अहम् विषयमा निर्णय गर्ने राजनीतिक परिपाटीको अन्त्य अबको आवश्यकता हो ।
हो, संविधान त जारी हुने भयो तर अझै बाँकी छन् राष्ट्रहितका धेरै मुद्दा–
१. विदेशी नागरिकलाई नागरिकता बाँडेर केही समयमै देशलाई राष्ट्रियताविहीन बनाउनेहरूलाई जेलमा राखी विदेशीलाई दिइएको नागरिकता खारेज गर्ने, २. जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने, ३. संघीयतालाई केवल विकासको मोडलको रूपमा मात्र प्रयोग गर्नका लागि अहिलेका पाँच विकास क्षेत्र र काठमाडौं उपत्यकालाई केन्द्रशासित राजधानी प्रदेश गरी जम्मा ६ वटा संघीय प्रदेश बनाउने, ४. देशलाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने, आदि आदि …। यहाँ हेग लानुपर्ने अपराधीहरू बाँकी नै छन् । यहाँ दिनदहाडै हत्या, हिंसा र अत्याचारको शृंखलाले देशलाई पूर्णरूपमा गाँजेको छ । त्यो संस्कारको बीजारोपण गर्ने र पक्षपोषण गर्नेहरूलाई कानुनी दायरामा ल्याउन बाँकी नै छ । अपराध गर्नु गौरव होइन, अत्याचार गर्नु पौरख होइन । अपराध र अत्याचार हामी नेपालीको चरित्र होइन । त्यसैले त्यस्तो चरित्रको अन्त्य अबको अर्को आवश्यकता हो ।
संविधान बनाउँछौँ, देशमा सुशासन कायम गर्छौं, गरिबीको अन्त्य गर्छौं र राष्ट्रिय स्वाभिमानको रक्षा गर्छौं भन्दै आम जनताका बीचमा गएर निर्वाचनमा मत माग्नेहरूले वर्षौंसम्म देशलाई अनिर्णयको बन्दी बनाइरहे । सत्ता र सम्पत्तिमा अल्मलिने राजनीतिक संस्कारको विकास गरियो । विगत ९ वर्षदेखि संविधानका नाममा देशको खर्बौं सम्पत्ति सिद्धिएको छ । एउटा देशले विकास र उन्नतिमा ठूलो फड्को मार्ने समय केही नेताहरूको स्वार्थका लागि बितेको छ । त्यसैले पनि अहिले संविधान आएर बुर्कुसी मार्नुपर्ने गरी खुसी हुने अवस्था पनि छैन । तर, संविधानको घोषणा सँगसँगै अन्य धेरै कुराको पनि सुनिश्चितता हुनु जरुरी छ । मूलतः देशको राजनीति स्वार्थीहरूको चंगुलमा परिरहनबाट जोगाउनु छ ।
यसबीचमा धेरै युवाको सपना तुहिएको छ । कैयौँ चेली बलात्कृत भएका छन् । आफ्नै मानव जातिको पुरुष भन्ने जन्तुको जबर्जस्तीको शिकार भएर आफ्नो अस्मिता लुटाएका चेलीको संवेदनामा पनि यहाँ राजनीतिका नामबाट खेलिन्छ । एउटा बलात्कारी कुनै सत्ताधारी पार्टीको सदस्य भएका कारणले नै सजायको भागिदार हुँदैन । उसले फलानो पार्टीको र ढिस्कानो पार्टीको बिल्ला भर्न पुग्दछ । अनि बलात्कारीलाई समेत पार्टीको झन्डा ओढाएर जोगाइन्छ । एउटा भ्रष्टाचारी कर्मचारीले पनि सहजै उन्मुक्ति पाउँछ किनकि ऊ कुनै राजनीतिक पार्टीको संरक्षणमा रहेको छ । एउटा गुण्डालाई पक्रेर लगेको प्रहरीले केही समयमै उक्त गुण्डालाई उन्मुक्ति दिन बाध्य हुन्छ किनकि सामाजिक विसंगतिको पराकाष्ठा गुण्डागर्दी राजनीतिक पार्टीहरूबाटै संरक्षित छ ।
त्यति मात्र होइन, राष्ट्रहितविरुद्ध आवाज उठाउने र देशलाई विखण्डन गर्छु भन्नेहरू पनि यहाँ दण्डित हुँदैनन् । विदेशी शक्तिका दलालहरू यहाँ खुलेआम राष्ट्रियताविरुद्ध आवाज उराल्छन् तर उनीहरू राज्यबाट झनै सम्मानित हुन्छन् । नेपाल आमालाई टुक्रा–टुक्रा पार्छु भन्नेहरूका आवाज चर्का हुन्छन्, यहाँ । अनि राज्यसत्ता रमाइलो मानेर मौन सम्मति दिइरहन्छ । यहाँ रहेको सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताको भावनालाई छिन्नभिन्न पारेर, मानव–मानवबीच बिग्रह गराएपछि सिर्जना हुन अराजकतामा खेल्नका लागि दाउ कुरेर बसिरहेका विदेशी शक्तिकेन्द्रका खेललाई अझै प्रश्रय दिई राज्यसंयन्त्र भनेको दास मानसिकता भएका व्यक्तिको खेल्ने आँगन जस्तो भएको छ । यसको अन्त्य संविधान निर्माणभन्दा पनि बढी जरुरी छ ।
यहाँ हरेक आमा र हरेक बाबुहरू आफ्ना सन्तानको भविष्यप्रति चिन्तित छन् । घरबाट बाहिर गएका आफ्ना चेली साँझ सुरक्षित घर फर्किन्छन् कि फर्किंदैनन् भन्ने चिन्तामा बसिरहनुपर्ने विडम्बनाबाट अभिभावकहरू चिन्तित छन् । स्कुल गएका आप्mना नानीको सुरक्षामा हरपल बाबुआमा चिन्तित छन् । कोही उपचार नपाएर अस्पतालको सिँढीमा पल्टिरहेका छन्, कोही भोकले मरिरहेका छन्, कोही चिसोले कठ्यांग्रिएर जीवन गुमाइरहेका छन् । जीवनभर परिवार, समाज र देशका लागि समय र ऊर्जा दिएका वृद्धवृद्धाहरू स्याहार र सेवाका अभावमा छट्पटाउँदै बसेर मृत्यु प्यारो लाग्ने अवस्थामा पुगेका छन् । कोही कसैको पनि जीवनको मूल्य नै छैन, यहाँ ।
जीवनलाई जीवनबाट पर धकेलेर केवल भौतिक पिण्डको रूपमा मात्रै बाँच्न बाध्य तुल्याउने राजनीतिक परिपाटी र राज्यसंयन्त्रको विस्थापन अहिलेको मुख्य आवश्यकता हो । केही गिनेचुनेका नेता भनाउँदाहरूको जीवन रक्षा र हितका लागि संविधान बन्ने होइन संविधान देश र जनताका लागि आउनुपर्छ ।
हो, संविधान त बन्ने भयो तर संविधान बने सँगसँगै यी र यस्ता प्रवृत्तिको अन्त्य पनि अर्को टड्कारो आवश्यकता हो । यो आवश्यकता संविधानभन्दा पनि बढी जरुरी छ ।
वास्तवमा हामी नेपालीलाई हिंसा मन पर्दैन त्यसैले हिंसात्मक माओवादी चाहिँदैन । भ्रष्टाचार हामी नेपालीको संस्कार नै होइन, त्यसैले हामीलाई नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पार्टी पनि चाहिँदैन । राष्ट्रघाती, विदेशीका दूतहरू र राष्ट्रहितको कुनै दृष्टिकोण नै नभएका लोकतन्त्रको नाममा भीडतन्त्रको स्वरूप लिएका, गुण्डागर्दी, भोटको खरिदबिक्री गर्ने, देशका नागरिकलाई पार्टीगत रूपमा विभाजन गराएर राष्ट्रियतालाई कमजोर पार्ने, सत्ता भनेको आफ्नो स्वार्थका लागि प्रयोग गर्ने थलो हो भन्ने सोच भएका यी पुराना पार्टीलाई पाखा लगाएर देशलाई भड्खालोमा जानबाट रोक्न हामी सक्षम हुनैपर्छ । जेलमा कोच्नुपर्नेहरूलाई शासक मान्नुपर्ने विडम्बनाबाट देशलाई मुक्त गर्नैपर्छ ।
अर्कोतर्फ, एउटा कुनाबाट दासयुगको अवशेषको रूपमा रहेको राजतन्त्रको वकालत गर्दै त्यसैलाई भ¥याङ बनाएर सत्ताको सपना सजाउनेहरूलाई पनि सचेत गराउन जरुरी छ । हरेक बच्चा आफू जन्मनासाथ आफूभन्दा माथि कोही शासक छ भन्ने दास भावनाले हुर्कनु नपरोस् भन्नेमा हामी सचेत हुनैपर्छ । हामीले हरेक नागरिकले सेवाको उपल्लो ओहोदामा पुग्ने सम्भावना राख्दछ भन्ने कुरालाई कायम राख्नैपर्छ । हामी अब कुनै पनि स्वरूपको राजतन्त्रको अवशेष देशको सत्तामा नआओस् भन्नेमा चनाखो हुनैपर्छ ।
अन्त्यमा, अहिले ठूला भनिएका पार्टीले संविधान निर्माणका लागि काम गरिरहेको देखिए पनि उनीहरू अवस्थाको फाइदा उठाउने तत्व मात्र हुन् । विगत नौ वर्षदेखि संविधानसभाका नाममा देशको अमूल्य समय र सम्पत्तिलाई आफ्ना लागि प्रयोग गर्ने यी शक्ति राष्ट्रहितका लागि कहिल्यै पनि संवेदनशील हुँदैनन् । उनीहरूको कार्यान्वयन क्षमता, नेतृत्वको चरित्र, राष्ट्रियताप्रतिको इमानदारीमाथि धेरै प्रश्न छन् । अबका दिनमा राष्ट्रवादी शक्तिले देशको राजनीतिमा नेतृत्व नलिने हो भने राष्ट्रियताको रक्षा, मानवताको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा हुन सक्दैन र हाम्रा भावी पुस्ता अझै पनि सदियौँसम्म गरिबी, अन्याय र अत्याचारको वातावरणमा बाँच्न बाध्य भइरहन्छन् । त्यसैले एउटा सशक्त राष्ट्रिय शक्तिको आवश्यकता हाम्रो देशलाई रहिरहेको छ जसले देशको बागडोर हातमा लिएर राष्ट्रलाई स्वावलम्बी, स्वाभिमानी र समृद्धताको मार्गमा लानका लागि काम गरोस् । त्यसैले अब सचेत नागरिकले यी नकारात्मक र परपीडक शक्तिहरूलाई देशको राजनीतिबाट पाखा लगाएर राष्ट्रवादी शक्ति, सहअस्तित्वको भावना भएको शक्तिलाई देशको राजनीतिको मूलधारमा स्थापित गर्न जरुरी छ ।

प्रतिक्रिया