इलाममा रेडपान्डा संरक्षण सुरू

read-panda6इलाम, २२ असार । इलामका चार गाविसमा रेडपान्डा (हाब्रे) संरक्षणको कार्य सुरु भएको छ ।

रेडपान्डा संरक्षणका लागि कार्यरत संस्था रेडपान्डा नेटवर्क र उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाले जमुना, जोगमाई, प्याङ र मावु गाविसमा विशेष संरक्षण अभियान सुरु गरिने संस्थाका कृष्ण राईले बताए ।

यी गाविसको तीन हजार ७७० हेक्टर क्षेत्रफलमा रेडपान्डाको संरक्षण कार्य, संरक्षण कार्यमा स्थानीयवासीलाई अग्रसर गराउन उनीहरूको जीविकोपार्जनमा सहयोग पुराउने र संरक्षणका लागि जनचेतना अभिवृद्धिलगायत कार्यक्रम गरिने रेडपान्डा नेटवर्कका सोनाम टासीलामाले जानकारी दिए ।

चार गाविसमा ५१ लाख ५० हजारको लागतमा रेडपान्डाको बासस्थान सुधार, खुल्ला चरिचरन नियन्त्रण, सामुदायिक वनको कार्ययोजनामा समावेश गर्न संरक्षण क्षेत्रको स्थापनालगायत काम गरिने उच्च पहाडी उत्पादक तथा संरक्षण संस्थाले जनाएको छ ।

यसैगरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउन जैविकखेतीबारे तालिम, पोली हाउस निर्माण, घरबास कार्यक्रमका लागि तालिम र हस्तकलाका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरिने छ ।

इलामका सात गाविसमा २३ देखि ४० को हाराहारीमा दुर्लभ रेडपान्डा रहेको अनुमान गरिएको छ ।

रेडपान्डा संरक्षण गर्न नेटवर्कको सहयोगमा प्रत्येक गाविसमा एकदेखि तीन जनासम्म गरी १४ वन अभिभावक राखिएको छ ।

रेडपान्डा संरक्षणका लागि संरक्षण संस्थाले उच्च कोटीका क्यामेरा जडान गरेको छ । हेर्दा अति लजालु स्वभाव भएको, रूखका हाङ्गामा बस्ने गर्छ ।

यतिबेला रेडपान्डाको प्रजनन समय भएकाले तीन महिनासम्मका लागि जमुनाको चोयाटार सामुदायिक वनले पर्यटक आवतजावतमा रोक लगाएको स्थानीयवासी कुमार गुरुङले बताए ।

प्रतिक्रिया