‘कागज च्यात्दैमा केही हुँदैन’

kp-oli-pझापा २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक–दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नहुने बताएका छन् ।

‘केही समूहले मस्यौदा च्यातेको सुनेको छु, कागज च्यातेर संविधान निर्माणको काम रोकिँदैन,’ प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक हुँदैन ।’
उनले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने बताए । केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने व्यवस्था भएको बताउँदै उनले भने, ‘साउनको दोस्रो सातासम्म संविधान आउँछ ।’
ओलीले संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने दाबी गरे । ओली आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका योजनाको अनुगमनका लागि झापा आएका हुन् । अध्यक्ष ओलीले आइतबार दमक–५ स्थित दुम्सेमा प्रस्तावित संसारकै अग्लो बुद्धको मूर्ति निर्माणस्थलको अवलोकनसहित त्यस क्षेत्रका बासिन्दासँग अन्तक्र्रियामा पुगेका थिए ।

प्रतिक्रिया