फ्री भिसा र टिकट नभएकालाई पूर्वस्वीकृति नदिने

काडमाडौं, २१ असार । साउदी अरब, ओमान, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुबेतसहित सात देशमा सोमबारदेखि ‘फ्री भिसा’, ‘फ्री टिकट’ नभएका फाइलको पूर्वस्वीकृत नदिइने भएको छ ।

श्रमग्राम ताहाचललाई यसअघि पहिले निस्केका फाइलको अन्तिम श्रम स्वीकृति दिने र ‘फ्री भिसा’, ‘फ्री टिकट’ बिनाका कुनै पनि फाइल नलिन श्रम तथा रोजगार मन्त्रालयले निर्देशन दिएको छ ।
श्रम ग्राम ताहाचलका प्रमुख विश्व प्रकाश सुवेदीले भने, ‘मन्त्रालयबाट फ्री भिसा, फ्री टिकटभन्दा बाहेकका कुनै पनि फाइल नलिन निर्देशन भएको छ । सम्बन्धित कार्यालयहरूले सोहीअनुसार काम गर्ने छौँ ।’ सोमबारदेखि फ्री भिसा, टिकटको मात्र फाइल सदर गर्ने भए पनि यसअघि पूर्वश्रम स्वीकृत निस्केका फाइललाई समस्या पर्दैन, सुवेदीले भने ।
व्यवसायीहरूले कामदारसँग चर्को रकम असुलेको भन्दै सरकारले शून्य लागत ल्याएको मन्त्रालयले जनाएको छ । व्यवसायीहरूले तत्काल लागू नगर्न पटकपटक आग्रह गर्दा पनि राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो निर्णयबाट पछि नहटने ढिपी गरेपछि आइतबारदेखि पूर्वस्वीकृत नदिने निर्णय गरेको हो । वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमल ढकालले भने, ‘तत्काल फ्री भिसा, टिकट लागू नगरी केही समय व्यवसायी, मन्त्रालय र सरोकारवाला निकायबिच छलफल गरेर मात्र लागू गरौँ भनेको राज्यमन्त्री गुरुङ मान्नुभएन ।’ तत्काल लागू गर्दा नेपालमा आउने गरेको मात्र गुम्नसक्ने भएकाले २÷३ महिना स्थगन गरेर छलफल गरौँ भनेको आइतबार मन्त्रालयमा छलफल गरेको मन्त्रीज्यूको प्रस्तुति ठीक नभएको अध्यक्ष ढकालले बताए । उनले भने, ‘व्यवसायीले पनि यसको विरोध गरेको होइन, कामदार निःशुल्क जान पाउनु पर्छ भनेका हौँ तर यसका लागि नेपालले पाउने कोटा निर्धारण गरौँ, दुई देशबीचमा श्रम सम्झौता गरौँ भनेर छलफल गर्दा राज्यमन्त्री गुरुङसँगको कुराकानीमा कुनै निर्णय भएन, आज (सोमबार) नौ बजे पुनः छलफल हुने भनिएको छ, के निर्णय निस्कन्छ ।’ राज्यमन्त्री गुरुङ नेपाल र नेपाली जनताको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थमा लागेका कारण समस्या बढ्दै गएको अध्यक्ष ढकालको धारणा छ ।
शून्य लागत कडाइका साथ लागू भएको खण्डमा अधिकतम २५ हजार रुपैयाँमा गन्तव्य मुलुकमा पुग्ने मन्त्रालयको आँकलन छ । हाल सरकारले मलेसियाको लागि ८० हजार खाडीका कतारबाहेकका देशलाई ७० हजार सिलिङ तोकिदिएको छ तर मेनपावर व्यवसायीहरूले मलेसियाका लागि न्यूनतम एक लाख २५ हजार र खाडी देशहरूमा एक लाख रुपैयाँसम्म लिने गरेका छन् भने युएईको सेक्युरिटी गार्डमा जाने कामदारसँग व्यवसायीहरूले तीन लाख २५ हजारदेखि सकेसम्मको लिने गरेका छन् तर पैसा लिएको रसिद भने सरकारले तोकेको सिलिङ बराबरको मात्र दिने गरेका छन् ।
श्रम ग्रामले आइतबारदेखि शून्य लागतको मात्र स्वीकृत गर्ने भने पनि यसअघि पहिले नै निस्केका फाइललाई समस्या पर्दैन, ‘सुवेदीले भने, ‘यसअघि निस्केका फाइलको अन्तिम सहजै दिइन्छ, मन्त्रालयले फ्री भिसा, फ्री टिकट भएका फाइलको मात्र पूर्व स्वीकृति दिनु भन्ने निर्देशन भएकाले सात देशमा सोहीअनुसार काम हुन्छ ।’ श्रम ग्राममा १० भन्दा बढी फाइलको पूर्व स्वीकृति निस्किसकेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया