मेलमिलापकर्ताको प्रथम राष्ट्रिय सम्मेलन

ललितपुर, २० असार । ‘मेलमिलाप : हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने नारा दिएर मेलमिलापकर्ताको प्रथम राष्ट्रिय सम्मेलन २३ बुँदे घोषणापत्र जारी गर्दै शनिबार भएको छ ।

मेलमिलापको प्रक्रियामार्फत न्यायमा सहज पहुँचको सुनिश्चितता प्रत्याभूत गरी मेलमिलापलाई नेपाली न्याय प्रणालीको महत्वपूर्ण चरित्रको रुपमा स्थापित गराउने अठोट घोषणापत्रमा समावेश गरिएको छ ।
‘मेलमिलाप सेवा नेपालका सबै तहका अदालत र सबै स्थानीय निकायमा विस्तार गर्ने कार्यमा सरकार र मेलमिलाप परिषद्को गम्भीर ध्यानाकर्षण गराउँदै मेलमिलापको लागि आएका पक्षहरूलाई मेलमिलाप प्रक्रियाद्वारा सहजीकरण गरी अत्यधिक सन्तुष्टि दिन प्रतिबद्धता व्यक्त गर्दछौँ,’ घोषणापत्रमा उल्लेख छ ।
सबै अर्धन्यायिक निकायमा विचाराधीन मुद्दामा मेलमिलाप सेवाको पहुँच स्थापना गर्नेतर्फ र आर्थिक दायित्व रहेका सरकारवादी हुने ठगी, वैदेशिक रोजगार कसुर एवम् सानातिना सरकारवादी फौजदारी मुद्दामा पनि मेलमिलाप गर्न सकिने मुद्दाका रुपमा राख्ने कानुनी व्यवस्थाको आवश्यक पहल गर्न सम्मेलनले मेलमिलाप परिषद्को ध्यानाकर्षण गराएको हो ।
अदालत वा न्यायिक निकायमा विचाराधीन मुद्दा मेलमिलापमा पठाउनेतर्फ प्रोत्साहित गर्न न्यायाधीश र अर्धन्यायिक निकायका प्रमुखसँग अन्तक्र्रिया तथा विभिन्न विषयमा छलफल गर्नुपर्ने सम्मेलनले परिषद्को ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया