कैलालीमा बालक चार दिनदेखि बेपत्ता

कैलाली, १९ असार । कैलालीको पहलमानपुरका एक बालक चार दिनदेखि बेपत्ता भएका छन् । पहलमानपुर–१ का अमर विकका १२ वर्षीय अर्जुन विक बेपत्ता भएका हुन् ।

घर नजिकैको बालविकास निमावि विद्यालयमा कक्षा ४ मा पढ्ने अर्जुन विद्यालयको छुट्टीपछि असार १६ गते दिउँसो नजिकैको जङ्गलमा गोठाला गएका थिए ।

अर्जुनका दुई वटा भैँसी जङ्गलमा हराएका थिए । घरमा गाली गर्ने डरले अर्जुन जङ्गलमै भैँसी खोज्न लागेको सँगै गोठाला गएका विरु वडुवालले बताए ।

हराएको दिन ठुलदाई ( अमर विक)को घरमा गएको हुन सक्ने भन्दै आफूहरूले कुनै खोजी नगरेको अर्जुनका फुपू तुल्सी विकले बताइन् ।

चार दिन भइसक्दासमेत अर्जुन घर नआएपछि परिवारले उनको खोजी गरिदिन पत्रकार, प्रहरी र स्थानीयवासीलाई आग्रह गरेको छ ।

अर्जुनका बुबा कामको सिलसिलामा भारतमा रहेका छन् ।

प्रतिक्रिया