पुनर्निर्माण गर्न जनशक्ति उत्पादन गरिने

काठमाडौं, १७ असार । घरेलु तथा साना उद्योग विकास समितिले भूकम्प प्रभावित १० जिल्लामा पुनर्निर्माणका लागि तीन करोडको लागतमा दुई हजार जनशक्ति उत्पादन गर्न लागेको छ ।

सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा, रसुवा, धादिङ, गोर्खा, तनहँु, लमजुङ, रामेछाप, सिन्धुलीमा क्षति भएका घर तथा संरचना पुनः निर्माणका लागि दक्ष जनशक्तिको आवश्यकता पर्ने हुँदा तिनको उत्पादन गर्न सीपमूलक परियोजना समितिले सञ्चालन गर्न लागेको हो ।
सीपमूलक तथा व्यावसायिक तालिमका मध्यमबाट त्यस क्षेत्रका नागरिकलाई सिकर्मी, डकर्मी, प्लम्बिङ्, कपाल काट्ने, सौन्दर्यसम्बन्धी, बिजुलीलगायत तालिम सञ्चालन गर्न लागिएको समितिका कार्यकारी निर्देशक धनराज पन्तले जानकारी दिए । प्रत्येक जिल्लाबाट दुई सय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । १० जिल्लाबाट उत्पादन हुने दुई हजार जनशक्तिले भूकम्पपछि भत्किएका संरचना पुनर्निर्माणका क्षेत्रमा तत्काल काम प्राप्त गर्न सक्नेछन् । पुनः निर्माणका लागि अहिले ठूलो जनशक्तिको अभाव हुनसक्ने सम्भावना छ ।
पन्तका अनुसार सो परियोजना नयाँ आर्थिक वर्षबाट सुरु गरिने र तीन महिनाको हुनेछ । त्यसलाई सम्पन्न गर्न तीन करोडको बजेट विनियोजन गरिएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका कार्यालयका भवन तथा संरचना गरी १५ करोड पूर्णक्षति भएको समितिले जनाएको छ । समितिका ४८ जिल्लामा कार्यालय रहेका छन् ।

प्रतिक्रिया