राजमार्गमा सम्झौता विपरीत काम

कर्णाली, १७ असार । गत आर्थिक वर्षको पुसमा नै कालोपत्रे गरिसक्नुपर्ने सुर्खेत–जुम्ला सडकखण्डमा सम्झौताअनुसार काम हुन सकेको छैन ।

ठेकेदारको लापरबाहीका कारण सो सडकखण्डमा समझौताअनुसार काम हुन नसकेको हो । विश्व बैंकको सहयोगमा दैलेखको खिड्कीज्युलादेखि जुम्ला, खलंगासम्मको एक सय ६ किलोमिटर सडक डेढ वर्षभित्र कालोपत्रे गर्न आठ निर्माण कम्पनीलाई ठेक्का दिइएको हो । २०१३ डिसेम्बरमा उक्त म्याद सकियो । तर, तोकेको समयमा आधा कार्य पनि प्रगति नभएपछि ठेक्का म्याद ६ महिना थप्नुपरेको सुर्खेत–जुम्ला सडक आयोजनाका प्रमुख शिरबहादुर घिमिरेले बताए । दैलेख खिड्कीज्युलादेखि कालीकोट, टाकुलासम्मको ५० किलोमिटर र टाकुलादेखि जुम्ला, खलंगाखण्डको ५६ किलोमिटरमा चार/चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । प्रति एक किलोमिटर झन्डै एक करोड खर्च लाग्ने उक्त खण्ड एक अर्ब २५ करोडको लागतमा ‘ओटासिल’ कालोपत्रे हुनलागेको हो । कालीकोटको सेरीघाट, भर्ताको ‘एस मोड’ र जुबिथाको टिमुरेखण्डमा सुस्तगतिमा काम भइरहेको छ ।
खिड्कीज्युला–भर्ता–सेरिघाटसम्मको १५ किलोमिटर तुन्दी नागार्जुन जेभी, सेरिघाटदेखि मान्मसम्मको १४ किलोमिटरमा तामाङ ‘पिएस गोल्डेन गुड जेभी, बाँकी खण्डमा ब्रजगुरु दिवा जेभी र रसुवा हिल्दुङ थोकर जेभीले सडक स्तरोन्नतिसहित कालोपत्रेको ठेक्का लिएका थिए । यस्तै कालीकोटको टाकुला–खल्नागाडको १२ किलोमिटर तुदीचन्द्र–वसन्त–केएस जेभी, खल्नागाड–नाग्म १४ किलोमिटर एमके अनक, नाग्म–कुडारी १४ किलोमिटर लामा विल्डर्स, कञ्चनजंघा जेभी र कुडारी–खलंगा खण्डको १६ किलोमिटर लुम्बिनी, राजेन्द्र जेभीले ठेक्का लिएका थिए । हरेक खण्डका लागि १६ करोडको हाराहारीमा बजेट छ ।
‘तोकेको समयभित्र आधा पनि काम नभएपछि पत्राचार गरेरै ठेक्का रद्द गर्ने चेतावनी दिएका छौं ’। अन्तिम पटकलाई केही दिन म्याद थपिएको छ’, बैंकका जुम्ला खण्डका आवासीय इञ्जिनियर तारा पुरीले भने, ‘यो समयसीमाभित्र काम सक्न निर्माण गति तेब्बर पार्न भनेका छौं ।’

प्रतिक्रिया