कर्जा लिने पक्राउ

काठमाडौं, १६ असार । धेरै जग्गा भएको लालपुर्जाको प्रयोग गरी हिमालयन बैंक लिमिटेड पाटन शाखाबाट किर्ते रूपमा ऋण लिने ललितपुर–३ पुल्चोकका स्थापित एन्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कम्पनीले कर्जा लिनका लागि सैँबु–१ बस्ने सरस्वती लिम्बुका नाममा दर्ता रहेको ललितपुर उपमहानगरपालिका–५ (म) स्थित कित्ता नम्बर २६६ मा भएको एक रोपनी जग्गा र सोही गाविस–१ बस्ने सुष्मा ठकुरीको नाममा रहेको ५(म) कित्ता नम्बर २६७ मा अवस्थित एक रोपनी जग्गा मञ्जुरीनामा लिएर कर्जा लिएको देखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

दुवै जग्गाको सेरेन कन्सल्ट प्रालिका कन्सल्टेन्ट सिद्धार्थ सागर श्रेष्ठले गरेको मूल्यांकन प्रतिवेदनको आधारमा २०६८ माघ १८ गते धितोसुरक्षण राखी ८० लाख कर्जा लिइएको थियो । बैंकबाट लिएको कर्जाको अवधि समाप्त भएकाले पटकपटक कर्जा भुक्तानीका लागि सूचना जारी गर्दासमेत अटेर भएपछि सो जग्गा लिलामीका लागि सूचना प्रकाशित गरिएकोमा लिलामी हुनसकेको थिएन ।

सो जग्गाको स्थलगत निरीक्षणका क्रममा १२ आना जग्गा मात्र खोलाको डिलमा देखिएको र बाँकी जग्गा खोलामा परेको देखिएको छ ।

बैंकका प्रबन्धक समीर आचार्यले दिएको जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाई सुशील स्थापित र सुष्मा ठकुरीसमेतलाई नियन्त्रणमा लिई बैंकिङ कसुरमा मुद्दाको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया