राजनीतिले सेयर बजारमा उछाल

काठमाडौं, १६ असार । राजानीतिक सहमति नजिकिन थालेपछि सेयर बजारमा उछाल आएको छ । सोही कारण नेप्से ९ सय ५० पुगेको हो । अहिले बजारमा तरलता हाबी भएपनि बैंक तथा वित्तीय संस्थाले आवास कर्जालाई निरूत्साहित गर्न कर्जाको ब्याजदर बढाउन थालेका छन् । भूकम्पपछि सबै भन्दा असुरक्षित क्षेत्रको रूपमा आवास क्षेत्र रहेको भन्दै उनीहरूले ब्याजदर घटाएका हुन् । आवास कर्जामा सबैभन्दा धेरै माग उपत्यकामा रहेको छ । उपत्यकाका घरको संरचना भूकम्पका कारण कमजोर भएको आशंका सँगै आवास कर्जाको रेट बढेको हो । केही बैंकहरूले आवास कर्जा निरूत्साहित गर्नकै लागि ब्याजदर बढाइसकेका छन । गत वर्ष बैंकहरूले साढे ७ देखि ८ प्रतिशत ब्याजमा घर निर्माणका लागि कर्जा दिइरहेकोमा अहिले यसको दर बढिसकेको छ । गत वर्षसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ प्रतिशत ब्याजमा आवास कर्जा दिएकोमा साढे १० प्रतिशतसम्म पु-याइसकेको छ ।
यस्तो अवस्थामा समेत सेयर बजारमा आकासिनु भनेको लगानीयोग्य क्षेत्रको अभाव बाहेक अरू हुन सक्दैन । भूकम्पको कारण घर –घरमा रहेको रकम बैंकमा जम्मा हुन थालेको कारण बैंकको निक्षेपमा अत्याधिक वृद्धि भएको नेपाल बैंकर्स एसोसियसनले जनाइसकेको छ । त्यस्ता रकम अहिले घर जग्गामा लगानी सम्भव नभएपछि सेयर बजारमा आएको आकलन गरिएको छ । अन्ततगोत्वा सेयरको लगानी पनि जोखिममा भन्ने कुरालाई सबैले बुझेकै हुनुपर्छ । तर पनि लगानी गर्ने क्षेत्र अभावमा सेयरमा केही नाफा आर्जन गर्न सकिन्छ की भनेर खरिद चाप बढिरहेको छ ।
योसँगै अहिले मुलुकमा सिर्जना भएको नया राजनीतिक समिकरणले पनि सेयर खरिदमा चाप बढेको हो । तर यतिचाँडै संविधान जारी हुनेमा भने अहिलेनै भन्न सक्ने अवस्था छैन । एमाओवादी र नेकपा एमालेले भनेजस्तो नेपाली काग्रेस संविधान जारी नगरी सरकारबाट बाहिरिने अवस्था भने देखिदैन । एमाओवादीले भनेजस्तो राष्ट्रिय सरकार गठन गरी नयाँ प्रधानमन्त्रीले संविधान जारी गर्ने विषय त्यति सहज देखिँदैन । यस्तो अवस्था सिर्जना भए नेपाली कांग्रेस सरकामा सहभागी नहुन सक्छ । यस्तो अवस्थमा सबैभन्दा ठूलो दलको रूपमा रहेको शक्तिलाई बाहिर राखेर कसरी संविधान निर्माण हुन्छ भन्ने प्रश्न आउने हुदा पनि तत्काले संविधान र सरकार परिवर्तनको अवस्था कमै रहेको छ । यस्तो अवस्थामा सेयरमा अन्धाधुन्द लगानी गर्नु उपयुक्त नहुन सक्छ ।
यता सरकारले भूकम्पले पाँच खर्बको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिसकेको छ । भूकम्पको कारण चालु आबको राजस्वमा प्रत्यक्ष असर पर्ने अर्थमन्त्रालयले जनाइसकेको छ । राजस्वका अतिरिक्त पर्यटन, उद्योग, बंैक लगायका क्षेत्रमा पनि असर परेको कारण समग्र अर्थतन्त्रमा त्यसले प्रभाव पार्ने निश्चित प्रायः छ । चालू आर्थिक वर्षमा कमजोर कृषि उत्पादनका कारण पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने मध्यावधि समीक्षा गरिएकोमा भूकम्प पछि आर्थिक वृद्धि झन् तल झर्न सक्ने देखिएको छ । सरकारले बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । भूकम्पले अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने सेवाक्षेत्र तहसनहस पारेकोले आर्थिक वृद्धिदर चार प्रतिशतको हाराहारीमा झर्ने पनि अर्थमन्त्रालयले सार्वजनिक गरीसकेको छ । त्यसैगरी, एसियाली विकास बैंकले पनि आर्थिक वृद्धि चार प्रतिशतकोको नजिक रहने बताएको छ । भूकम्पले अर्थतन्त्रमा आधाभन्दा बढी योगदान गर्ने सेवा क्षेत्रमध्ये पनि पर्यटन क्षेत्रमा त झन धेरै असर पारेको छ । अनि यस्तो अन्योलको अवस्थामा लगानी गर्नुभन्दा पनि सुरक्षित भएर बस्नु उपयुक्त हुन सक्छ ।

प्रतिक्रिया