श्रमराज्यमन्त्रीको राजीनामा माग

Tekbahadur-Thapaकाठमाडौं, १३ असार । १७ असारमा हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा वर्तमान अध्यक्ष हंसराज वाग्लेले किरणकिशोर घिमिरे समूहलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

संघमा राजनीतिक हावी भएका कारण कामकारबाही प्रभावकारी नभएको भन्दै आगामी दिनमा संघमा गैर राजनीतिक व्यक्तिको आवश्यक परेको भन्दै घिमिरे समूहलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

आसन्न निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट विमल ढकाल र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको तर्फबाट सरोज पोखरेल समूहले उम्मेदवारी घोषणा गरेका छन् ।

‘ढकाल कांग्रेस समर्थित र पोखरेल एमाले समर्थित भएको कारण मेरो सहयोग र समर्थन घिमिरे समूहलाई हुन्छ’, वाग्लेले भने, ‘घिमिरे स्वतन्त्र उम्मेदवार भएका कारण घिमिरेलाई समर्थन गर्छु । उहाँको जित सुनिश्चित छ ।’

प्रधानमन्त्री, श्रम तथा रोजगार राज्यमन्त्रीका साथै संघमा पनि कांग्रेसको नेतृत्वहुँदा व्यवसायी र कामदारका हितमा आवश्यक काम गर्न नसकेको प्रति आत्मलोचना गर्दै वाग्लेले भने, ‘यसअघि संघमा विभिन्न दलका प्रतिनिधिले नेतृत्व गर्दा कुनै पनि काम हुन सकेन, त्यसैले स्वतन्त्र उम्मेदवार घिमिरेलाई सहयोग गर्न लागेको हुँ ।’

यता अध्यक्षका उम्मेदवार सरोज पोखरेलले वर्तमान अध्यक्षले खुलेआम म यो समूहलाई सहयोग गर्छु भन्न पदीय मर्यादा विपरीत भएको भन्दै आलोचना गरे ।

फोरमको पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारले फोरमले उम्मेदवारी नदिएपछि स्वतन्त्र भनेर उठ्नु व्यवसायीलाई झुक्याउने काम भएको भन्दै स्वतन्त्र रूपमा उठ्न पार्टीको सदस्यता त्यागेर उम्मेदवारी दिन आग्रह गरे ।

संघको नेतृत्वका लागि उम्मेदवारी दिएका तीन वटै समूहका अध्यक्षका प्रत्यासीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले अन्तर्राष्ट्रिय माफियाको आर्थिक प्रलोभनमा परेर मलेसियामा रोजगारको लागि जाँदा फ्रि भिसा र फ्रि टिकट उपलब्ध गराउनुपर्ने निर्णय गरेको आरोप लगाए ।

रिपोटर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा अध्यक्ष प्रत्यासी विमल ढकाल, सरोज पोखरेल र किरणकिशोर घिमिरेले राज्यमन्त्री गुरुङ तत्काल राजीनामाको माग गरे ।

अध्यक्षका प्रत्यासी सरोज पोख्रेलले वर्तमान सरकार वैदेशिक रोजगार व्यवसायलाई ध्वस्त बनाउन लागेको आरोप लगाउँदै बंगलादेशी माफियासँगको मिलेमतोमा फ्रि टिकट र फ्रि भिसा लगाउने निर्णय गरेको दाबी गरे ।

फ्रि टिकट र भिसा व्यवसायीको एजेन्डा भए पनि त्यो विना गृहकार्य तत्काल लागू हुन नसक्ने दाबी गर्दै त्यसका लागि सम्बन्धित मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘राज्यले मुलुकमा युवालाई रोजगारी दिन नसक्ने अनि वैदेशिक रोजगारीमा पनि जान नदिने यस्तो नीतिले मुलुकमा संकट ल्याउँछ’ पोख्रेलले भने, ‘रेमिट्यान्सबाट चलेको मुलुकमा सरकारले फ्रि टिकट र फ्रि भिसाको नीति ल्याएर व्यवसायीको ढाड सेक्ने काम गरेको छ । यस्तो निर्णय गर्ने मन्त्रीले राजीनामा दिनुपर्छ ।’

उनले वैदेशिक रोजगार ऐन २०६४ कामदार मैत्री नभएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिँदै व्यवसायीले प्रत्येक वर्ष पाँच लाख नेपालीलाई वैदेशिक रोजगारीको अवसर जुटाउने प्रतिबद्धता व्यक्त गरे ।

वैदेशिक रोजगार व्यवसायी संघलाई कुनै पार्टी विशेषको भ्रातृ संगठन नबनाई विशुद्ध व्यावसायिक बनाउनुपर्ने भन्दै वर्तमान अध्यक्ष हंशराज वाग्लेले उम्मेदवार किरणकिशोर घिमिरेलाई समर्थन गरेको विषयले संघको व्यवसायी मर्यादामाथि आँच आएको गुनासो गरे ।

पोख्रेलले आम व्यवसायी आफ्नो पक्षमा रहेकोले आगामी निर्वाचनबाट आफ्नो समूहको जित निश्चित भएको दाबीसमेत गरे ।

अध्यक्षका अर्का प्रत्यासी बिमल ढकालले सरकारको फ्रि टिकट र फ्रि भिसाको नीतिले नेपालले पाउने पाँच लाख कोटा बंगलादेश पुग्ने आशंका ब्यक्त गर्दै यो नीतिले बैदेशिक रोजगार क्षेत्रलाई ध्वस्त बनाउने चेतावनी दिए ।

मलेसियाले यस अघि बंगलादेशबाट कामदार लिन बन्द गरे पनि पछिल्लो एक साता अघि बंगलादेशबाट तीन वर्षमा १५ लाख कामदार लिने सम्झौता गरेको जानकारी गराए ।

‘रेमिट्यान्सले धानेको मुलुकमा यस्तो अर्दुदर्शी नीतिका कारण यो क्षेत्र संकटमा परेको भन्दै बंगलादेशी र अन्तर्राष्ट्रिय गिरोहबाट श्रम राज्यमन्त्री प्रयोग छ’ ढकालले भने, । यो नीतिले श्रममा लैजाने मुलुकहरूसँगको नेपालको सम्बन्ध विग्रने चेतावनी दिदै तत्काल श्रम मन्त्रीको बर्खास्तीको माग गरे ।

उनले पर्यटन क्षेत्र ध्वस्त भएको बेला बैदेशिक रोजगारबाट भित्रने रेमिट्यान्सबाट मात्र मुलुक चलेको तर्क गर्दै यस्तो अर्दुदर्शी नीति फिर्ता लिन माग गरे । ढकालले सबै प्रत्यासीका एजेण्डा समान भएको तर कार्यान्वयनमा मात्र फरक रहेको भन्दै सोही कारणले आफ्नो जित निश्चित रहेको दावी गरे ।

स्वतन्त्र प्रत्यासी किरण किशोर घिमिरेले बैदेशिक रोजगारको लागि अहिले अवसर भएको भन्दै प्रधानमन्त्रीले हस्तक्षेप गरेर श्रम राज्यमन्त्रीले गरेको निर्णय खारेज गराउनु पर्ने माग गरे ।

सरकारी नीतिले ब्यवसाय ब्यवसाय खतरामा परेकोले तत्काल श्रम राज्यमन्त्रीको राजिनामाको माग गर्दै कांग्रेसकै सरकार भएर काग्रेसले नै यसमा केही सुनवाई नगरेकोले आफू स्वतन्त्र उम्मेदवार बनेको बताए ।

श्रम राज्यमन्त्रीले १ अर्बको कार्टेलिङ गरेर बायोमेट्रिक्स प्रणाली लागु गरेको आरोप लगाए । ‘फ्रि टिकट र भिसा लगाउने नै भए कोरिया कामदार पठाउँदा सरकारले एक लाख रुपैयाँ किन लिएको ?’ उनले प्रश्न गरे ।

घिमिरेले यो नीतिले बंगलादेशलाई फाइदा पुग्ने भन्दै दुई मुलुकबीचको सम्झौतामा मात्र यो नीति कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘श्रम राज्यमन्त्रीले आफ्नो म्यानपावरलाई फाइदा पुर्‍याउन यस्तो निर्णय गरेको हो । उहाँले तत्काल राजीनामा दिनुपर्छ ।’

उनले आगामी नेतृत्व स्पष्ट नीति भएको हुनुपर्ने भन्दै आफ्नो जित निश्चित भएको बताए । घिमिरेलाई वर्तमान अध्यक्ष हंसराज वाग्ले र पूर्वअध्यक्ष पे्रमबहादुर कटुवालको समर्थन रहेको छ ।

फोरमले आधिकारिक उम्मेदवार ढकाललाई बनाएपछि स्वतन्त्र उम्मेदवार दिएका घिमिरेले भने, ‘फोरमले ढकाल र म मध्ये कसलाई अध्यक्ष बनाउने भनेर मतदान गर्दा रमेश पराजुली र कृष्ण पौडेल व्यवसायी नै नभएका गैर व्यक्तिलाई मतदान गर्न लगाएर मलाई बाइपास गरियो ।’

पूर्वअध्यक्ष पे्रमबहादुर कटुवालले वैदेशिक रोजगार व्यवसायलाई पार्टीकरण गर्न नहुने भन्दै स्वतन्त्र व्यवसायीले नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले कांग्रेसकै प्रधानमन्त्री र श्रममन्त्री भएको बेला यस्तो निर्णय आएको भन्दै यो मुलुकका लागि दुर्भाग्यपूर्ण भएको चेतावनी दिए ।

प्रतिक्रिया