‘१३ असारभित्र मस्यौदा’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले तीन दिनभित्र संविधानको मस्यौदा तयार पार्न दबाब दिने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शुक्रबार बसेको पदाधिकारी बैठकले १३ असारभित्र नयाँ मस्यौदा तयार पार्ने गरी संविधान निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको छ । एमाओवादीले संविधान निर्माणका लागि पार्टीको सबै शक्ति लगाउने भएको छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको सबै शक्ति संविधान निर्माणमा लगाउने र १३ असारभित्र मस्यौदा बनाउन सहयोग गर्ने निर्णय गरेको बताए ।
उपाध्यक्ष श्रेष्ठले मस्यौदा समितिमा रहेका सदस्यहरूले पनि आ–आफ्नो ठाउँबाट संविधान बनाउन सकरात्मक दबाब दिने पनि बताए । बैठकमा मस्यौदा समितिमा अहिलेसम्म छलफल र प्रगतिबारे समीक्षा गर्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको थियो ।
अध्यक्ष दाहालको सचिवालयले मस्यौदा निर्माणको कामबारे छलफल भएको जनाएको छ । मस्यौदा निर्माणको काममा देखिएका विवाद कसरी अन्त्य गरेर चाँडो संविधान जारी गर्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित रहेको सचिवालयले जनाएको छ । मस्यौदा निर्माणका देखिएका समस्याबारे समितिले कार्यदल गठन गरेर काम गरिरहेको भए पनि विवादका कारण सम्पन्न हुन सकेको छैन । मस्यौदा निर्माणमा देखिएका समस्याबारे समितिले गोप्य रूपमा काम गरिरहेको छ ।
प्रमुख दल चाँडौभन्दा चाँडो मस्यौदा तयार गरेर संविधान जारी गर्न सकरात्मक देखिए पनि कतिपय नयाँ विषय त कति मिलिसकेका विषयमा पनि मस्यौदा लेखनका क्रममा विवाद बल्झिएको छ । (सौस)

प्रतिक्रिया