अभ्यास खेलमा नेपाल पारजित

लर्डस् । टी–ट्वान्टी विश्वकप छनोट तथा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा पराजय बेहोरेको छ ।
नेपाल स्थानीय मिडेल सेक्स क्लबसँग १५ रनले पराजित भएको हो । मिडेल सेक्सक्रिकेट क्लबले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेटको क्षतिमा एक सय ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि सुवास खकुरेलले ४६ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए पनि त्यो जितको लागि पर्याप्त भएन । शरद भेषवाकरले ३२ रन तथा राजेश पुलामी मगरले अविजित १७ रन बनाउनुबाहेक अन्य तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । मिडेलका पटेलले तीन विकेट लिए । यस्तै पोडमोरले दुई तथा सन्धुले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मिडेल सेक्स क्रिकेट क्लबले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६४ रन जोडेको थियो ।
मिडेल सेक्सका लागि बलविर्नेले सर्वाधिक ७२ रनको योगदान गरे । हिगिन्स ३८ रनमा आउट भए । यसकिनाजीले २३ रन तथा स्कट सात रनमा अविजित रहे । स्टिल आठ तथा डेक्सटर पाँच रनमै आउट भए । १७ रन जोडेको अवस्थामा पहिलो विकेट गुमाएको मिडेल सेक्सले दोस्रो विकेटका लागि एक सय नौ रनको साझेदारी गर्दै इनिङ उकासे । नेपालका लागि जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामीले एक विकेट लिए । (एजेन्सी)

प्रतिक्रिया