भूकम्पले अस्पतालको आम्दानीमा वृद्धि

काभ्रे, १० असार । स्वास्थ्य क्षेत्रतर्फ आर्थिक वर्ष ०७०/७१ को तुलनामा चालु आर्थिक वर्ष ०७१÷७२ मा नौ दशमलव ८२ प्रतिशतले गार्हस्थ उत्पादन बढ्ने प्रारम्भिक अनुमान गरिए पनि भूकम्पपछि १० दशमलव ४ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

भूकम्पपछि बिरामी तथा घाइतेलाई उपचार गर्दा सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा स्वास्थ्योपचार गराउने भएपछि कारोबारमा वृद्धि आएको छ । जसले स्वास्थ्य सेवा क्षेत्रको गार्हस्थ उत्पादन बढ्ने अनुमान गरिएको छ । १२ वैशाखमा आएको भूकम्पले ठूलो जनधनको क्षति पु¥याए पनि स्वास्थ्य क्षेत्र लाभदायक बनेको तथ्यांक सार्वजानिक भएको छ । भूकम्पका कारण शिक्षा, उद्योग, व्यापार, खानी, उत्खनन्, कृषिलगायत सम्पूर्ण क्षेत्रको कुल गार्हस्थ उत्पादन घट्ने निश्चित भएका बेला स्वास्थ्य क्षेत्रको भने कुल गार्हस्थ उत्पादनमा वृद्धि गरेको तथ्यांक सार्वजानिक भएको छ ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा स्वास्थ्य क्षेत्रअन्तर्गतका अस्पताल र स्वास्थ्यसँग सम्बन्धित गतिविधि गर्ने संस्थाहरूले भूकम्पको समयमा गरेको लगानीका बाजुत आएको राहत, अनुदानको रकमहरूले यस्तो देखाएको जनाइएको छ । अस्पतालहरूले भूकम्पपीडितहरूको उपचारका लागि विभिन्न रकम खर्च भएको जानकारी दिएको केही साताभित्रै करिब लगानीको चार गुणा नाफा कमाउन सफल भएको तथ्यांकमा उल्लेख छ ।
सामुदायिक अस्पताल भनेर प्रचार गरिने गरिएको धुलिखेल अस्पतालले बिरामीको निःशुल्क उपचार गरेको भनेर प्रचार भए पनि विभिन्न संघसंस्थाको सहयोग र पहलमा करिब चार करोडको हाराहारीमा सहयोग प्राप्त गरेका छन् । नेपाल सरकारको तर्फबाट पनि जटिल अपरेसन गरेबापत्को रकम दिइसकेको र औषधिहरू पनि पठाइसकेको छ ।
अस्पतालले दिएको जानकारीअनुसार उपचार खर्च एक करोडको हाराहारीमा पुगेको छ । एक करोडको हाराहारीमा भएको खर्चका अलवा चार करोडबराबरको रकम सहयोग लिइसकेको अस्पलालले दिएको जानकारीमा प्रस्ट छ । सहयोग प्राप्त भएपछिका बिरामीले मूल्य तिरेर औषधि खरिद गर्न बाध्य बनेका छन् । स्रोतका अनुसार अस्पतालले त्यस्ता राहतस्वरुप आएका औषधि धमाधम बिक्री गरिरहेको छ ।

प्रतिक्रिया