मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

sisternirmalaकोलकाता, ८ असार । गरिब, दुःखी र असहायको सहाराको रुपमा विश्वमा प्रसिद्ध रहेकी नारी मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला जोशीको निधन भएको छ ।

भारतको कोलकातास्थित मिसनरीज् अफ च्यारिटीकी प्रमुख रहेकी निर्मलाको ८१ वर्षको उमेरमा आज (मङ्गलबार) निधन भएको पूर्वी भारतीय नगर कोलकाता मिसनले जनाएको छ ।

उनी मुटुको रोगले थलिएकी थिइन् । केही समययतादेखि निर्मला बिरामी परेकी थिइन् । कोलकाताको च्यारिटी होमका पादरी थोमस डि सोउजाले सिस्टर निर्मलाको निधन भएको जानकारी आज दिएका हुन् ।

उनले भने, ‘सिस्टर निर्मला केही समयमात्र यतादेखि मुटुको रोगले थलिनुभएको थियो, तर उहाँ बिरामी नै भए पनि कहिल्यै हाँस्न छोड्नुभएन, मुस्कुराएरै जानुभयो ।’

‘उहाँको स्वास्थ्य लाभको कामनाका लागि ठूलो सङ्ख्यामा उहाँलाई घेरेर रहेका दिदी बहिनीहरुकै माझ उहाँको निधन भयो’, पादरी डिसोउजाले बताए ।

निर्मलाको सामान्य जीवनयापनका साथै गरिबहरुको सहायताका लागि जीवन अर्पण गर्ने प्रतिबद्धता र सरल व्यवहारका कारण मदर टेरेसोको उत्तराधिकारीका रुपमा चयन भएकी थिइन् ।

कोलकातामा मदर टेरेसाले स्थापना गरेको सो च्यारिटीमा निर्मला प्रमुख थिइन् ।

सन् १९९७ को सेप्टेम्बरमा मदर टेरेसाको निधन हुनुभन्दा करिब छ महिनामात्र अगाडि उनलाई आफ्नो उत्तराधिकारीका रुपमा मदर टेरेसाले नै चयन गरेकी हुन् ।

स्वास्थ्यका कारण उक्त मिसनको प्रमुखबाट सन् २००९ मा छोड्नुभन्दा पहिला करिब १२ वर्षसम्म उनले मदर टेरेसाको उत्तराधिकारीको रुपमा कोलकाताका गरिब, बिरामीहरुको सेवामा रहेकी थिइन् ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि अर्पण गर्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भनेका छन्, ‘उहाँ सुरुमा हिन्दू परिवारमा जन्मिएपनि पछि रोमन क्याथोलिक बन्नुभएको थियो ।’

उनीप्रति हार्दिक श्रद्धाञ्जलि दिनका लागि कोलकातामा सयौँ व्यक्ति उपस्थित भएका छन् ।

प्रतिक्रिया