अशक्तलाई गायकको आवासीय सुविधा

Akashकाठमाडौं । ललितपुरस्थित सिद्धिपुर नगरपालिकामा भूकम्प प्रभावित वृद्धवृद्धा तथा अशक्तलाई अमेरिकामा रहेका गायक तथा इन्जिनियर चन्द्र महर्जनले निजी खर्चमा स्थानीयस्तरमै आश्रय दिइरहेका छन् । झन्डै एक दशकदेखि इन्जिनियरिङ पेसामा आबद्ध महर्जनले सिद्धिपुरका ७७ भूकम्प प्रभावित वृद्धवृद्धा तथा अशक्तलाई आफैले निर्माण गरेको भवनमा आवासीय सेवा दिइरहेका हुन् । गायक महर्जनले केही वर्षअघि ‘ड्रिम्स’ नामक एल्बम बजारमा ल्याएका थिए ।
मिनी अस्पताल स्थापनाको उद्देश्यले निर्माण गरिएको सिद्धिपुरको मुनलाइट फार्मेसी भवनमा वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । फार्मेसीको व्यस्थापन हेरिरहेका जितेन्द्र महर्जनले वृद्धवृद्धालाई आवाससँगै स्वास्थ्य परीक्षण एवं भजन किर्तनको समेत सुविधा दिइएको बताए । ‘यहाँ आश्रित सबै वृद्धवृद्धा तथा अशक्तमध्ये कतिको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कतिको घर बस्न नसकिने अवस्थामा छ । त्यसकारण उहाँहरूलाई हामी ६ महिनासम्म आवासीय सेवा दिने काम गरिरहेका छौँ,’ जितेन्द्रले भने, ‘६ महिनासम्म पनि उहाँहरूको घरको व्यस्थापन हुन सकेन भने एक वर्षसम्म हामी आश्रय छौँ ।’ फार्मेसीले खेतमा निर्माण गरेका अस्थायी टहरामा प्रत्येक शनिबार प्रवचनको समेत व्यवस्था गरिदिएको छ ।
यसै स्थानमा शनिबार निर्देशक तथा कलाकार आकाश अधिकारी पुगेर त्यहाँको अवस्थाको निरीक्षण गरे । ‘मैले पनि भूकम्पपीडित व्यक्तिका लागि आफ्नो संस्था ‘आशाको ज्योति नेपाल’मार्फत काम गरिरहेको छु, चन्द्र मेरा साथी हुन्, उनले आप्mनो स्थानको अवस्थाको बारेमा बुझिदिन आग्रह गरेपछि म यहाँ दुईपटक आइसकेको छु,’ आकाशले भने, ‘यहाँका वृद्धवृद्धा तथा अशक्त व्यक्ति भजन, किर्तन र केही मात्रामा सुरक्षित रूपमा घरमा बसिरहेको देख्दा खुसी लाग्यो । आगामी दिनमा पनि उहाँहरूका लागि मेरो साथी तथा मेरो तर्फबाट सहयोग गर्नुपर्ने काम गरिरहनेछु ।’ आकाशले आफ्नो संस्थामार्फत वृद्धवृद्धाका लागि दुई टेन्ट सहयोग गरेका छन् । (सौस)

प्रतिक्रिया