निर्देशनतिर कंगना

Kanganaमुम्बई । आफू अभिनित फिल्महरूले सफलता चुम्दै गएपछि बलिउड अभिनेत्री कंगना रनावत अब अभिनयभन्दा अलिक पृथक र जिम्मेवारीपूर्ण विधामा आफूलाई उभ्याउने योजना बनाएकी छन् । आफू अभिनित पछिल्ला फिल्म ‘क्विन’, ‘तन्नु वेड्स मन्नु रिटर्नस’ जस्ता फिल्मले व्यापारसँगै प्रशंसा पनि राम्रै पाएपछि उनको ध्यान अब फिल्म निर्देशनतिर तानिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार केही समयअघि राष्ट्रपति प्रवण मुखर्जीबाट राष्ट्रिय पुरस्कार पाएकी उनले अब निर्देशनलाई अघि बढाउन लागेकी हुन् । ‘मैले राम्रो प्रस्तुती दिन निकै मिहिनेत गरेकी छु, जब मैले अभिनयको सुरुवात गरेको थिएँ, त्यो बेला नै मैले योभन्दा अझ वृहत् काम गर्न सक्छु कि भन्ने सोचेको पनि थिएँ,’ उनले भनेकी छन्, ‘हरेक मानिस आफ्नो करियरमा एउटा अन्तिम बिन्दुसम्म पुग्न चाहन्छ, त्यसकारण म पनि त्यो बिन्दु निर्देशन हो भन्ने सोचेर निर्देशनको सोच बनाउँदैछु ।’
कंगना हाल हंसल मेहताको फिल्म ‘सिमरन’ र विशाल भारद्वाजको फिल्म ‘रंगुनमा व्यस्त छिन् । कंगनाले अर्को फिल्म ‘कट्टीबट्टी’ मा इमरान खानसँग रोमान्स गर्दैछिन् । निखिल आडवाणीले निर्देशन गरेको फिल्मको ट्रेलर १४ जुनमा रिलिज हुँदैछ । (एजेन्सी)

प्रतिक्रिया