मुम्बई । पन्ध्र वर्षपहिले रिलिज फिल्म ‘कहो ना प्यार है’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्यो । फिल्म उद्योगमा फिल्मबाट डेब्यु गरेका अभिनेता ऋतिक रोशन र अमिषा पटेल फिल्ममै स्थापित भए ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमिषाले आफू पुनः यो फिल्मको सिक्वेलमा अभिनय गर्ने चाहना व्यक्त गरेकी छन् । ‘मलाई लाग्छ कि जुन दिन ‘कहो ना प्यार है’ को सिक्वेल बन्ने घोषणा हुन्छ, उक्त दिन पूरै देश उत्साहले पागल हुनेछ । जो कोही दर्शक पनि ऋतिक र मलाई फेरि पर्दामा हेर्न आतुर छन् । यो कुरा ऋतिक र राकेश रोशन (फिल्मका निर्देशक) को हातमा रहनेछ,’ अमिषाले भनेकी छन् ।
ऋतिक हालको अवस्थामा बलिउडमा उत्कृष्ट अभिनय गरिरहेका छन् जबकि अमिषा केही फ्लप फिल्ममा अभिनय गरेपछि फिल्म क्षेत्रबाटै गुमनाम बनेकी छन् । हाल उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘देशी म्याजिक’ बाट आफ्नो करियरलाई पुनर्ताजगी दिँदैछिन् ।
‘निर्माताको रूपमा यो मेरो पहिलो फिल्म हुनेछ, दर्शक मलाई सिल्भर स्क्रिनमा चाँडै देख्दैछन्, त्यो पनि दोहोरो भूमिकामा,’ उनले भनिन्, ‘म सिल्भर स्क्रिनमा फर्कन चाहन्छु र यसका लागि मेरो प्रोडक्सनबाहेक अन्य विकल्प के हुन सक्ला र ? फिल्मको ८० प्रतिशत सुटिङ भइसकेको छ भने दुई/तीन महिनामा यो रिलिज हुनेछ ।’
यो फिल्मका निर्देशक मेहुल अथा हुन् । फिल्ममा अमीषा र कुणाल गुमल सहनिर्माता छन् । अमिषाबाहेक जायद खान र साहिल श्राफ पनि फिल्ममा देखिँदैछन् । (एजेन्सी)
प्रतिक्रिया