लन्डन । लन्डनका अर्बपति उद्यमी रिचर्ड ब्रैंसनको वित्तीय सेवा कम्पनी भर्जिन मनीले आफ्नो नयाँ क्रेडिट कार्डमा ब्रिटिस पंक रक ब्यान्ड ‘सेक्स पिस्तोल’को तस्बिर प्रयोग गर्ने भएको छ । ब्रैंसनको कम्पनी भर्जिन रेकर्डस्ले ३८ वर्षअघि ब्यान्डका साथ करार सम्झौता गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्यान्डले सन् १९७० मा संगीतको दुनियाँमा तहल्का मच्चाएको थियो । भड्किलो आचारण र नयाँ किसिमको संगीतका कारण यो ब्यान्ड चर्चित थियो । क्रेडिट कार्डमा ब्यान्डको नाम र उसको आर्टवर्कलाई उतारिनेछ । कार्डको बिक्री मंगलबारबाट सुरु भएको छ । कार्डमा ‘नेवर माइन्ड द बोलोक्स’ र ‘एनार्की इन द युके’ एल्बमको आर्टवर्क प्रकाशन गरिनेछ ।
‘लामो समयदेखि ब्रिटेनका सबै बैंक एकै किसिमको काम गरिरहेका छन् । यो कार्ड सार्वजनिक गर्दाको समयमा हामीले भर्जिनको विरासत र अलग पहिचानलाई कायम राख्ने विश्वास लिएका छौँ,’ कार्डका कारोबार निर्देशक मिसेल ग्रिनले भनेका छन्, ‘सेक्स पिस्तोलले स्थापित मान्यतालाई पछि पार्दै नयाँ शैली स्थापित गरेको छ, अहिले हामी यस्तै काम ब्रिटिस बैंकिङका लागि गर्न खोजिरहेका छौँ ।’ कार्डको पछाडि ग्राहकको नाम, कार्ड नम्बर र एक्सपायर मिति उल्लेख गरिनेछ । ब्यान्डसँग ब्रैंसनको सम्बन्ध ४० साल पुरानो हो । उनले १९७७ मा सेक्स पिस्तोलसँग आफ्नो रेकर्ड लेबलका लागि साइन गरेका थिए । यो समयमा सेक्स पिस्तोल स्थापनाको दुई वर्ष मनाउँदै थियो । भर्जिन मनीमा ब्रैंसनको ३५ प्रतिशत हिस्सेदारी रहेको छ । ‘सेक्स पिस्तोल एक आइकोनिक ब्यान्ड हो र भर्जिनको इतिहासको एक महत्वपूर्ण हिस्सा पनि हो,’ ब्रैंसनले भनेका छन् । (एजेन्सी)
प्रतिक्रिया