साना गाउँमा ज्याकी चाङ

Jaiki-Chanकाठमाडौं, २७ जेठ । ‘कुङ फु किङ’का रूपमा परिचित हलिउड सुपरस्टार ज्याकी चाङ मंगलबार काठमाडौं उत्रिए । भूकम्पले आक्रान्त मुलुकमा उनी फिल्म सुटिङका लागि नभएर पीडितको सहयोगका लागि आएका थिए ।

एयर चाइनाको विमानबाट बिहान ११ बजेर २७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै सोल्टी होटल पुगेका उनी त्यहाँ केहीबेर आराम गरी ललितपुरमा पुगेर भूकम्पपीडितलाई भेटेका थिए । दिनभर पीडितसँग रहेका उनी राति चीन फर्किए ।

ज्याकी आफ्नो संस्था ज्याकी चाङ च्यारिटेबल फाउन्डेसनमार्फत रेडक्रस सोसाइटी अफ चाइनासँग सहकार्य गर्दै भूकम्पपीडितलाई सहयोग गर्न नेपाल आएका थिए । उनीसँगै रेडक्रस सोसाइटी अफ चाइनाको टिम पनि यहाँ आएको थियो । करिब पाँच सय बाकस राहत सामग्री लिएर आएको उनको टोलीले ललितपुरको जावलाखेलस्थित शिविरमा रहेका अपांगता भएका व्यक्तिलाई राहत
सामग्री दिएको थियो ।

बाकसमा रेनकोट, ब्रस, तौलिया, चप्पल, कुसन, सरसफाइको सामग्रीलगायत सामग्री रहेको बताइएको छ । रेडक्रसको चिह्न अंकित टिसर्ट लगाएर शिविरमा पुगेका उनले बाकसलाई बोकेर पीडितलाई दिएका थिए ।

हातमा गुलाबको फूल लिएर पीडितसमक्ष पुगेका चाङले पीडितलाई राहतको बाकससँगै गुलाबको फूल पनि दिएका थिए । राहत दिएपछि उनले अपांता भएका पीडितसँग अंकमाल गरे । नेपालप्रति विशेष सहानुभूति राख्ने चाङले नेपालका भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका थिए ।

उनले उक्त रकमको चेक केही समयअघि सिंगापुरमा आयोजित च्यारिटी कार्यक्रममा हस्तान्तरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटीका अनुसार चाङले ललितपुरको च्यासल र सिद्धिपुरस्थित साना गाउँ पुगेर राहत बाँडेका थिए । उनी एयर चाइनाकै विमानबाट बेलुकी ११ बजे स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया