बक्स अफिस, फिल्म र हल वर्गीकरणलाई मुख्य प्राथमिकता

rajkumar_raiकाठमाडौं । मन्त्रिपरिषद्को बैठकबाट गत शुक्रबार चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका फिल्मकर्मी राजकुमार राईले आफ्नो ध्यान फिल्म क्षेत्रमा बक्स अफिस लागु गर्नु रहेको बताएका छन् । बोर्डमा आइतबार आयोजित कार्यक्रम पदबहाली गर्दै उनले महाभूकम्पका कारण पीडित बनेका फिल्मकर्मीका लागि काम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । साथमा उनले बक्स अफिस, फिल्म र हल वर्गीकरणको काम आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए ।
‘मेरो प्राथमिकतामा बक्स अफिस, नेपाली फिल्म र हलको वर्गीकरण छन्, मलाई कुनै कुरा थोरै आउँछ होला, तर जति आउँछ प्रष्ट आउँछ,’ नेपाल चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका राईले भने,‘ अब म सम्पूर्ण चलचित्र क्षेत्रकै मानिस हुँ, यसैले सबैसँग मिलेर काम गर्छु ।’
राईले चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ लाई पनि निरन्तरता दिने बताए । ‘अब हामीले साना–साना कुराहरूलाई सबैसँग मिलेर समाधान गर्दै जानुपर्छ,’ उनले भने, ‘यो कामका लागि मलाई सम्पूर्ण फिल्मकर्मीको साथ चाहिएको छ ।’
दौरा, सुरुवाल र टोपीमा सजिएका राई बोर्डको कार्यालयमा पुग्दा उनलाई बाजागाजासहित स्वागत गरिएको थियो । उनलाई स्वागत गर्न पुगेका फिल्मसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिले बोर्डको अध्यक्ष जस्तो पदमा सक्रिय फिल्मकर्मीको आगमनले फिल्म क्षेत्रमा नयाँ उत्साह जागेको बताएका थिए । (सौस)

प्रतिक्रिया