क्वालालम्पुर । बलिउडकी देशी गर्ल अर्थात् प्रियंका चोपडा बलिउडकै व्यस्त अभिनेत्रीमा पर्दछिन् । तर, बलिउडमा अभिनेत्रीको रूपमा स्थापित हुनुअघि बलिउड प्रवेशसम्मको यात्रा भने उनका लागि निकै पीडादायी बनेको छ ।
पञ्जाबी परिवारमा जन्मिएकी प्रियंकाले १० वर्षअघि मात्र बलिउडमा अभिनेत्रीका रूपमा प्रवेश गरेकी थिइन् । प्रियंकाले आफ्नो परिवारले फिल्म क्षेत्रमा काम गर्न कडा प्रतिबन्ध लगाए पनि आफूले त्यो प्रतिबन्धलाई पार गर्दै फिल्म क्षेत्रमा आएको बताइन् ।
‘म एक रुढीवादी पञ्जाबी परिवारबाट आएकी महिला हुँ,’ इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको कार्यक्रममा आफ्नो फिल्म ‘दिल धड्कने दो’ को प्रिमियरपश्चात् मिडियासँग भनिन्, ‘जब म फिल्म क्षेत्रमा आएँ, मेरो परिवार मेरो कामबाट निराश थिए, तर केही समयपछि आमाबुबाले मलाई काम गर्न सहयोग गर्नुभयो र मैले चाहेको कुरा गर्न दिएपछि अहिले यो स्थानमा आइपुगेँ ।’
प्रियंकाले फिल्ममा आफूले भारतीय महिलाको प्रतिनिधित्व गरेको बताएकी छन् । ‘महिलालाई जहिले पनि बन्धनमा राखिन्छ, तपाईं के हो र के चाहनुहुन्छ भन्ने कुराको कसैलाई फरक पर्दैन,’ उनले भनेकी छन् । (एजेन्सी)
प्रतिक्रिया