क्वालालम्पुर । बलिउडका प्रख्यात अभिनेता अनुपम खेरले प्रधानमन्त्री तथा आफ्ना सहयोगी नरेन्द्र मोदीको दिल खोलेर तारिफ गरेका छन् । उनले मोदीको शासनमा भारतीय सिनेमाले स्वर्णिम युगको यात्रा गरेको पनि दाबी गरेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित तीन दिने इन्टरनेसनल इन्डिया फिल्म एकेडेमी(आइफा) विकेन्ड एन्ड अवार्ड्सलाई सम्बोधन गर्दै मोदीकै कारण भारतीय फिल्म उद्योग पूलभै सुवास छर्दै गएको बताएका हुन् ।
‘भारतीय सिनेमा प्रधानमन्त्री मोदीको सरकार रहँदा स्वर्णिम युगमा हिँडिरहेको छ, यहाँ फल पूलिरहेको छ । मेरो उनी र मेरी श्रीमती किरण खेर(भाजपा सांसद)सहित उनका सहकर्मीप्रति धेरै आस्था छ ।’ अनुपमले भनेका छन् ।
अनुपमले ३१ वर्षको समयमा चार सय ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले भारतीय फिल्मले विश्वभरका मानिसलाई खुसी राख्न सफल भएकोसमेत बताएका छन् । ‘यो एउटा यस्तो काम हो, जसमा एक लाइट ब्वाइसहित जोकोही पनि ज्यान दिन्छ, उनीहरूलाई फिल्मको मुनाफासँग कुनै सम्बन्ध हुँदैन, तैपनि उनीहरू आफ्नो खुन र पसिना बगाउँछन् ।’ उनले भने ।
कार्यक्रममा अनुपमले आफ्नो एक्टिङ स्कुल ‘एक्टर प्रिपेयर्स’ बारे पनि बोलेका छन् । ‘मैले ११ वर्षअघि अभिनय स्कुल सुरु गरेँ, म त्यो बेला निकै खुसी भएको थिएँ, किनकि मेरो सपनाले वास्तविकता पाइरहेको थियो, मैले ११ विद्यार्थी लिएर सुरु गरेको स्कुलमा अहिले पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् ।’ अनुपम हिन्दी फिल्म जगतमा राखिएको नाम ‘बलिउड’ को सधैँ आलोचना गर्छन् । (एजेन्सी)
प्रतिक्रिया