पुनःस्थापनाबारे छलफल सुरु

काठमाडौं, २५ वैशाख । महाभूकम्पले निम्त्याएको विनाशसँगै उद्धारका काम अन्तिम चरणमा पुगेका बेला पीडितको पुनःस्थापना कसरी गर्ने भन्नेबारे उच्चतहमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताबीच राहत तथा पुनःस्थापनाबारे छलफल भएको हो । बैठकमा दलहरू सहमतिमा पुग्न भने सकेनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार पीडितको पुनःस्थापनाबारे छलफल भएको हो ।
बैठकमा सबै दल एक ठाउँ उभिएर तत्काल घरबारविहीन जनतालाई कसरी अस्थायी बसोबास मिलाउने भन्नेबारे छलफल भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । भूकम्पबाट भत्किएका सर्वसाधारणका सबै घर बनाइदिने गरी साझा संकल्पको प्रस्ताव ल्याउने गरी तयारी भइरहेको छ । साझा संकल्प प्रस्तावमाथि तीन–चार दिन छलफल हुने र संसद्बाट पारित गर्ने तयारीमा नेताहरू जुटेका हुन् ।
बैठकमा भत्केका घर सरकारले बनाइदिनुपर्ने, प्रभावित जनताका लागि एक वर्षसम्म खाद्यान्न व्यवस्था र भत्केको घर निर्माण नहुन्जेल अस्थाथी बसोबासको व्यवस्था गर्नुपर्ने माग पनि उठेको छ । एमाले र एमाओवादीले भत्केका घर सरकारले नै बनाइदिनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा भूकम्पपीडितलाई परिचयपत्र वितरण गरेर क्षति वितरण हेरी आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेमा नेताहरू सकरात्मक देखिएका थिए । नेकपा–माओवादीले ग्रामीण भेगमा एकीकृत बस्ती र भूकम्पबाट तत्काल नभत्किने प्रकृतिका घर सरकारले बनाइदिनुपर्ने धारणा ल्याएको छ । उपाध्यक्ष सिपी गजुरेलले छरिएर रहेका गाउँका घर समेटेर एकीकृत बस्ती बनाउन सरकारले जोड दिनुपर्ने बताए । ‘धेरैजसोका घर भत्किएका छन्, उनीहरूले बनाउन सक्ने अवस्था देखिएन,’ उपाध्यक्ष गजुरेलले भने, ‘यस्तो अवस्थामा सरकारले एकतले भए पनि घर बनाइदिनुपर्छ ।’
गृहमन्त्रालयको तथ्यांकअनुसार २ लाख ८८ हजार ७ सय ९८ घर क्षतिग्रस्त छन् । यस्तै, २ लाख ५४ हजार १ सय १२ घरमा आंशिक क्षति पुगेका छन् । पूर्ण तथा आंशिक क्षति पुगेका घरको पुनःनिर्माण गर्न लाग्ने खर्चेबारे सरकारले प्रारम्भिक अनुमान पनि सार्वजनिक गरेको छैन । केही अन्तर्राष्ट्रिय समुदायले आफ्नै नेतृत्वमा पीडितलाई घर बनाइदिने प्रस्ताव पनि राखेका छन् । तर, राहत तथा उद्धारमा सरकारले एकद्वार नीति अपनाउँदा यसमा समस्या देखिएको छ ।
महाभूकम्पले क्षतिग्रस्त क्षेत्र पुनर्निर्माणका लागि व्यवस्थित र सुसंयोजित ढंगले रफ्तारमा काम गर्न अर्थमन्त्रालय र विभिन्न दातृसंस्थाका प्रतिनिधिबीच अर्थमन्त्रालयमा बिहीबार अन्तरक्रिया पनि भएको छ । कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले सबै नवनेपाल निर्माणमा लाग्नुपर्ने र सुन्दर नेपाल बनाउन विकास साझेदार र मित्र राष्ट्रबाट अझ ठूलो सहयोग खाँचो रहेको बताए । उनले दाताको दक्षता, इच्छा र क्षमताअनुसारका कामको जिम्मेवारी र भूमिका तय गरिने समेत जानकारी दिए ।
‘ढुंगामाटाका घरमा बस्दैनौँ’
महाभूकम्पका कारण घरविहीन सर्वसाधारणले माटा र ढुंगाका घरमा आफूहरू नबस्ने भन्दै पक्की घर बनाइदिन सरकारसँग माग गरेका छन् । ढुंगामाटाका घर भूकम्प आउँदा जतिबेला पनि भत्कन सक्ने भन्दै उनीहरूले निश्चित मापदण्ड ल्याएर पक्की घर बनाउन र त्यसका लागि आर्थिक सहयोग उपलब्ध गराउनसमेत माग गरेका छन् । निम्न वर्गका पीडितले भने आफूहरूसँग घर बनाउन रकम नभएकाले यस्तो बेला घर बनाइदिन सरकारसँग अपिल गरे ।
सिन्धुपाल्चोक साँगादेव–४ का पूर्णबहादुर लामाले तत्काल बस्न त्रिपाल तथा राहतमा ध्यान दिन आग्रह गर्दै दीर्घकालका लागि सरकारलाई विशेष योजना ल्याउन अनुरोध गरे ।
यस्तै, काभ्रे चण्डेली–२ का चीनबहादुर लामाले सरकारले घर बनाउन भूकम्पबाट बच्न सक्ने गरी विशेष मादपण्ड ल्याउनुपर्ने बताए । उनले सरकारले निश्चित मापदण्ड तोकिदिएर घर बनाइदिनुपर्ने र बनाउन नसक्नेलाई निश्चित आर्थिक सहयोग दिनुपर्ने बताए । महाभूकम्पमा परी लामाले आमा, भाउजू र भतिजी गुमाएका छन् ।
ललितपुर बुंगमतीका दिनेश खड्काले स्थायी व्यवस्था नहुँदासम्म भूकम्पपीडितलाई खाली रहेका सार्वजनिक जग्गा भाडामा लिएर भए पनि निश्चित सुविधासहित व्यवस्था गरिदिन माग गरे ।
संसद्मा शोक प्रस्ताव
काठमाडौं । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन १२ वैशाखको भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा प्रस्तुत विशेष प्रस्ताव र पूर्वसांसद् चक्रबहादुर ठकुरीको निधन भएकामा सर्वसम्मतले शोकप्रस्ताव पारित गर्दै सकिएको छ ।
बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवले संसद्को तेस्रो अधिवेशनबारे पठाएको पत्र वाचन गरे । सभामुख नेम्वाङले भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गरे ।
‘यही वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रिक्टर स्केलको भूकम्प र त्यसपछि पटकपटक गएका भूकम्पले हजारौँ व्यक्तिको ज्यान गएको तथा लाखौँ जनता घरबारविहीन भई विश्वसम्पदा सूचीमा रहेका बहुमूल्य सम्पदा एवं पूर्वाधारको समेत क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्छ,’ प्रस्तावमा भनिएको छ ।
बैठकले भूकम्पमा परी दिवंगत भएकाको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति सहानुभूति तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
शोक प्रस्ताव पारित
व्यवस्थापिका–संसद्को बैठकले ०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित सदस्य चक्रबहादुर ठकुरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।
लोकतान्त्रिक आन्दोलनका योद्धा ठकुरीको ५७ वर्षका उमेरमा १२ वैशाखमा शनिबार रसुवाबाट काठमाडौं आउने क्रममा भुइँचालोसँगै गएको पहिरोमा परी मृत्यु भएको थियो । बैठकले उनको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ । यस्तै, शुक्रबारका निम्ति डाकिएको संविधानसभाको बैठक १ जेठमा ३ बजे हुने भएको छ । विशेष कारणवश बैठक सारिएको सभामुख सुवास नेम्वाङले बैठकलाई जानकारी गराए ।

प्रतिक्रिया