२० सरकारी कार्यालय सञ्चालन हुन नसक्ने अवस्थामा

काठमाडौं, २४ वैशाख । १२ वैशाखमा आएको भूकम्पले राजधानीका २ सय १० सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । तीमध्ये २० सरकारी कार्यालय सञ्चालन हुनसक्ने अवस्थामै छैनन् ।

सहरी विकास मन्त्रालयले क्षतिग्रस्त सकारी कार्यालयको विवरण संकलन गरिरहेको छ । मन्त्रालयले भूकम्पपछि सरकारी कार्यालयको अवस्था कस्तो छ भनेर ‘¥यापिड असिस्टमेन्ट’ गरिरहेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता प्रमोद कुँवरका अनुसार, भूकम्पबाट २० सरकारी कार्यालय भवन उपयोग गर्न नमिल्ने अवस्थामा छन् । कार्यालय नै सञ्चालन गर्न नहुने अवस्थामा तीन मन्त्रालय र तीन उच्च कार्यालय छन् । उनका अनुसार रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयसँगै सर्वोच्च अदालत, महान्यायिवक्ताको कार्यालय र आर्मीको सुरक्षा भवन उपयोग हुन सक्ने अवस्थामा छैन । इन्जिनियरको टोलीले ती भवनलाई ‘रेड’ चिन्ह
लगाएका छन् ।
भूकम्पका कारण १ सय ४९ कार्यालयमा सामान्य क्षति र ४१ कार्यालयमा अलि धेरै क्षति पुगेको छ । समान्य क्षति पुगेका कार्यालयलाई ‘ग्रिन’ र धेरै नै क्षति पुगकालाई ‘एलो’ चिन्ह लगाइएको छ । सहरी विकास तथा भवन निर्माण विभागका सिनियर इन्जिनियर मर्चाकाजी महर्जनले रेड चिह्न लगाएका ६ कार्यालय जतिबेला पनि भत्किन सक्ने भएकाले कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको बताए । उनले अन्य ‘रेड’ चिह्न लगाएका कार्यालय पनि भित्र पस्न नमिल्ने अवस्थामा रहेका बताए । उनका अनुसार ‘ग्रिन’ चिह्न लगाइएका कार्यालयमा काम सञ्चालन गर्न मिल्ने र ‘एलो’ चिह्नका कार्यालमा सावधानीपूर्वक रहेका कार्यालय सञ्चालन गर्न मिल्नेछ । तर, पछि ती कार्यालय मर्मत गर्न जरुरी छ । उनका अनुसार पुराना राणाकालीन भवनमा रहेका सरकारी कार्यालयमा बढी क्षति पुगेको छ ।
इन्जिनियर महर्जनले भूकम्पको केन्द्रविन्दु बनाएका जिल्लाका सरकारी कार्यालयमा बढी क्षति पुगेको जानकारी दिए । भूकम्पको केन्द्रविन्दु भएका गोर्खा, रसुवा, नुवाकोट, सिन्धुपाञ्चोलमा बढी क्षति भएको छ । उनले ती जिल्लाबाट क्षति विवरण अझै
नआइसकेको बताए ।
बुधबार एक मात्र धक्का
काठमाडौं, २३ वैशाख । अघिल्लो शनिबार ७.६ रिक्टर स्केल भूकम्पको पराकम्पन न्यून हुँदै गएको छ । महाभूकम्प गएको १२ औँ दिन बुधबार एकपटक मात्र भूकम्प गएको हो । पहिलो दिन ३८ पटक कम्पन आएकामा सोमबार १० औँ दिनमा आइपुग्दा ९, मंगलबार ३ हुँदै बुधबार एकपटक मात्र कम्पन आएको हो । पहिलेको तुलनामा निकै कम मात्रामा भूकम्पको पराकम्पन आइरहेका राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्मोजोलिस्ट रत्नमणि गुप्ताले जानकारी दिए । उनले इनर्जी कम भएकाले पराकम्पन पनि घट्दै गएको बताए । बुधबार गोर्खा केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको थियो । मंगलबार बिहान ६.३९ बजेर र दिउँसो ४.२३ र ५ बजे भूकम्पका पराकम्पन गएका थिए । मंगलबार धादिङ, दोलखा र सिन्धुपाञ्चोलक केन्द्र बनाएर पराकम्पन गएका थिए ।
केन्द्रप्रमुख लोकविजय अधिकारीले १० औँ दिनका तुलनामा अहिले १० गुणा कम भूकम्प आएको बताए । अहिलेसम्म १ सय ४६ पटक ४ रेक्टरभन्दा बढीका भूकम्प आएका छन् ।
उपत्यकाका २५ प्रतिशत घर बस्न अयोग्य

काठमाडौं । उपत्यकाका २५ प्रतिशत घर बस्न योग्य नभएको पाइएको छ । नेपाल इन्जिनियर एसोसिएनले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका २० हजार घरमा गरेको परीक्षणमा यस्तो पाइएको हो । एसोसिएनका केन्द्रीय सदस्य विश्वराज पाण्डेले घरका परीक्षण गर्दा २५ प्रतिशत घर भूकम्पले गर्दा बस्न योग्य नभएको बताए । उनले ती घर जतिबेला पनि भत्कन सक्ने जानकारी दिए । ‘२५ प्रतिशत घर अति जोखिम देखिए,’ उनले भने, ‘ती घर जतिबेला पनि भत्कन सक्ने भएकाले मान्छेलाई नबस्न आग्रह गरेका छौँ ।’ उपत्यकाका ५० प्रतिशत बस्न योग्य र २५ प्रतिशत मर्मतपछि मात्र बस्ने योग्य रहेको उनले बताए ।
एसोसिएसनका २ हजार ४ सय सिभिल र आर्केटेक्ट इन्जिनियर उपत्यकामा ४–५ जनाको टोली बनाएर घरमा निरीक्षण गरिरहेका छन् । काठमाडौंमा मात्र दुई सय टोली परिचालन गरिएको छ भने गोर्खामा २, काभ्रेमा २, धादिङमा र नुवाकोटमा १–१ टोली परिचालन गरिएको पाण्डेले बताए । उनले आफूहरूको टोली घरमा गएर परीक्षण गरेपछि पालमा बसिरहेका मानिस घरमा गएर बस्न थालेका बताए । ‘भूकम्पले थोरै चर्किएका घरमा पनि मानिस डरले बाहिर पालमा बसिरहेका थिए,’ उनले भने, ‘हामीले परीक्षण गरेर त्यस्ता घर बस्न योग्य छन् भन्यौँ । अहिले मानिस ढुक्क घरमा बस्न थाले ।’ एसोसिएन पहिला आफैँ टोलटोलमा गए पनि अहिले फोन गरेर मेरो घर हेरिदिनुस् भनेपछि मात्र परीक्षणमा जाने गरेका छन् । घरपरीक्षण गर्न संयोजन गरिरहेका पाण्डेले मुख्य ठाउँको परीक्षणपछि अहिले फोन गरेर बोलाएपछि मात्र जाने गरेको बताए । उनका अनुसार कार्यालयमा बिहान ८ देखि साँझ ८ बजेसम्म तारन्तार घर परीक्षणका लागि अनुरोध आउने गरेका छन् ।
पाण्डेले अझै ५ हजार घर परीक्षण गर्न बाँकी रहेका बताए । उनले इन्जिनियरले पनि उत्साहसँग काम गरिरहेको जानकारी दिए । ‘हाम्रा साथीले जनतासँग प्रत्यक्ष भेट गरेर काम गर्दा एकदमै उत्साही भएका छन्,’ उनले भने, ‘आफूले सिकेको सीप सर्वसाधारणमा बाँड्दा खुसी छौँ ।’

प्रतिक्रिया