किशोरीले गरिन् परिवारको उद्धार

Dolakha-new-sphotoदोलखा, २२ वैशाख । ‘भूकम्प गएपछि घर फर्कंदा गाउँले पुरिएका आमाबाबुलाई खनेर निकाल्दै थिए,’

१२ वैशाखको भूकम्प सम्झँदै उत्तरी लामाबगर–८ स्थित ठाडीटोलकी १३ वर्षीया जुनमाया तामाङ भन्छिन्, ‘धन्न आमाबुबा र फूप बाँच्नुभयो ।’
१२ वैशाखमा महाभूकम्प जाँदा उनी जंगलमा दाउरा लिन गएकी थिइन् भने आमा फुलमाया तामाङ घरभित्र नै थिइन् । बिरामी बुबा मंगले तामाङ पनि घरमै सुतिरहेका थिए । बिरामी मंगलेलाई भूकम्पले थप घाइते बनायो । १३ वर्षीया जुनमायाले सोमबार बाबुआमा र फुपूलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइन् । भूकम्प गएको १० दिन बितेपछि उनीहरू उपचार पाउँदै छन् ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको गाडीले उनीहरूलाई उपचारका लागि सदमुकामसम्म ल्याएको हो ।

१० दिनदेखि जुनमाया परिवारको सहारा भएकी छिन् । उनीहरूसँग उपचार गराउने पैसा पनि छैन । गाउँलेको सहयोगमा बल्ततल्ल गोगरखोलासम्म ल्याइन् । सरकारले राहत दिन्छ भनेपछि नौ दिन कुर्दा पनि यो परिवारले केही हाता पारेको छैन । धेरैपटक हेलिकप्टरले लामाबगरमा फन्को मारे पनि फूलमाया र मंगलेलाई देखेन । सोमबार प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गराउँदा ६० वर्षीया फूलमायाले भनिन्, ‘जिउमा एउटा सुईले बल्ल घोच्यो है !’
पहिलादेखिकै बिरामी मंगले बोल्नसमेत सकिरहेका छैनन् । सदरमुकामको प्राथमिक स्वास्थ्य केन्द्रको पालमुनि अन्य घाइतेसँगै फूलमाया दम्पतीको पनि उपचार हुँदै छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको गाडीले उनीहरूलाई उपचारका लागि सदमुकामसम्म ल्याएको हो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा सिडिओ प्रेमलाल लामिछानेले फूलमायाका परिवारलाई खानाको प्रबन्ध मिलाउन जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई आग्रह गरेका छन् । महाभूकम्पले उत्तरी दोलखामा बढी क्षति गरेको छ । मर्नेको तथ्यांक ६८ पुगेको छ ।

प्रतिक्रिया