निजी विद्यालयमा ८ अर्बको क्षति

sourya dayaकाठमाडौं, २१ वैशाख । अघिल्लो शनिबार गएको महाभूकम्पले ३६ जिल्लाका सात सय सामुदायिक विद्यालय पूर्णरूपमा क्षति भएका छन् । विद्यालयका १० हजार कक्षाकोठा पढाइ सञ्चालन गर्न नमिल्ने गरी भत्किएका छन् । भूकम्पले एक सय आठ विद्यार्थी र २१ शिक्षकको ज्यान गएको छ । दुई सय निजी विद्यालयमा पनि क्षति पुगेको छ ।

भत्केका कक्षा कोठाबाट करिब ८ अर्ब रूपैयाँ नोक्सान भएको छ । शिक्षा विभागका प्रवक्ता खगेन्द्र नेपालका अनुसार भूकम्पले सात सय २७ विद्यालय र १० हजार ८ सय ८५ कक्षा कोठा पूर्णरूपमा भत्किएको जानकारी गराए । उनले क्षति संकलन गर्ने कार्य भइरहेकाले अझै बढ्न सक्ने बताए ।
उनका अनुसार, भत्केका विद्यालयमा तुरुन्तै कक्षा सञ्चालन गर्ने अवस्था छैनन् । १ हजार ४ सय २० विद्यालय र ३ हजार १ सय १३ कक्षा कोठामा आंशिक क्षति पुगेको छ । ३ सय १९ विद्यालय र ७ सय २४ कक्षा कोठामा सामान्य क्षति पुगेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले दुई सय विद्यालयमा क्षति पुगेको जानकारी दिए । ‘पूरा तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘तर, अहिलेसम्म करिब दुईसय विद्यालयमा क्षति पुगेको अनुमान छ ।’
विभागले क्षति पुगेका विद्यालयमा अस्थायी कक्षाकोठा बनाएर सञ्चालन गर्ने तयारी भएको जनाएको छ । ‘अहिले विद्यालयमा कक्षा सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘तत्काल अस्थायी कोठा बनाएर पढाइ सुरु गर्ने तयारीमा छौँ ।’
भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाञ्चोक, दोलखा, धादिङ र नुवाकोटका विद्यालयमा पुगेको छ । विभागका सिनियर डिभिजन इन्जिनियर झपर विकले ती जिल्लाका ७० प्रतिशत विद्यालय भत्किएको बताए । सिन्धुपाञ्चोक र धादिङमा मात्र पाँच हजार विद्यालयमा क्षति पुगेको छ । उनका अनुसार, पुराना समुदायले बनाएका विद्यालयमा बढी क्षति पुगेको छ । पहिले बनाएका विद्यालय पनि भत्किएका उनले जानकारी गराए । ‘समुदायले विनाइन्जिनियर बनाएका धेरै भवन भत्किएका छन्,’ उनले भने, ‘केही पछि बनाइएका भवन पनि भत्किएका छन् । ती भवनका पिलर, बिम क्र्याक भएका छन् ।’ उनका अनुसार नयाँ, ४ कोठे र रेक्ट्रोफिटिङ भवन भत्किएका छैनन् ।
विकले भत्किएका भवनको अवस्थाबारे बुझ्न तुरुन्तै प्राविधिकको टोली पठाइने बताए । ‘आंशिक क्षति भएका विद्यालयमा कक्षा सञ्चालन गर्न हुन्छ कि हुँदैन भनेर टोली खटाउँदै छाँ,’ उनले सौर्यसँग भने, ‘इन्जिनियरसँग पनि सहयोग माग्छाँ । चाँडै नै क्षति पुगेका भवनमा विद्यालय सञ्चालन गर्न मिल्छ कि मिल्दैन भनेर पत्ता लगाउँछौँ ।’

मन्त्रालयका प्रवक्तासमेत रहेका लम्सालले क्षति भएका विद्यालयमा पाल, त्रिपाल र टेन्ट लगाएर कक्षा सञ्चालनको प्रयास गरिने बताए ।

उनका अनुसार एउटा कोठा बनाउन सवा तीनदेखि चार लाख रूपैयाँ लागेकाले करिब ८ अर्ब रूपैयाँ नोक्सान भएको हो । ‘एउटा कोठा बनाउँदा ३ लाख २५ हजारदेखि ४ लाख रूपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘प्रारम्भिक तथ्यांकमा ८ अर्ब रूपैयाँ क्षति भएको देखिन्छ ।’
शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले भूकम्प प्रभावित क्षेत्रका विद्यालयको क्षति संकलन भइरहेको बताए । उनले क्षति भएका विद्यालय सञ्चालनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याइएको बताए । ‘कुन विद्यालय तत्काल सञ्चालन गर्न सकिन्छ, कुन सकिँदैन, हेरेर योजना ल्याउँदै छौँ,’ उनले भने, ‘योजनाअनुसार विद्यालय सञ्चालन गर्नेछौँ ।’
मन्त्रालयले भूकम्प प्रभावित ११ जिल्लाका विद्यालय वैशाखभर बन्द गरेको छ । भूकम्प प्रभावित क्षेत्रका विद्यालयको अध्ययन गर्न सहसचिव लवदेव अवस्थीको संयोजकत्वमा समिति पनि बनाएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका लम्सालले क्षति भएका विद्यालयमा पाल, त्रिपाल र टेन्ट लगाएर कक्षा सञ्चालनको प्रयास गरिने बताए । उनले एक जेठेबाट विद्यालय सञ्चालन गरे पनि पूर्णरूपमा भत्किएका विद्यालयमा पढाइभन्दा पनि बालबालिकालाई भूकम्पको त्रासबाट जोगाउने कार्य हुने बताए ।

प्रतिक्रिया