काठमाडौं, २० वैशाख । कराते राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न प्रशिक्षकहरूले तयारी गर्ने भएका छन् । राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ भन्छन्, ‘यस दुखद घडीमा हामी सम्पूर्ण नेपालीलाई आहत तुल्याएको छ तर पनि बिस्तारै केही दिनपछि नै आफ्नो दिनचर्यामा फर्कनुको कुनै विकल्प छैन ।’ बालाजु कराते एकडेमी डोका चन्द्र श्रेष्ठ, भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ र सञ्चारकर्मी सुमन भोम्जनको निधनले आहत तुल्याएको बताउँदै उनले भने, ‘खेलकुदमा अन्य मानवीय क्षतिको जानकारी पाएको छैन ।’ बक्सिङ खेलाडी दीपक महर्जन र करातेका सुनील लामाको घर भत्किएको जानकारी गराउँदै उनले भने, ‘यी यावत् चोटका बाबजुद हामी केही योजना बनाउनेछौँ ।’
नेपालीहरू मानसिक रूपले पूर्ण तयार हुन ६ महिना लाग्ने अनुमान गरिए पनि प्रशिक्षणका लागि त्यत्ति धेरै समय लगाउन नहुने उनले बताए । दशरथ रंगशालामा तीन दिनसम्म खाना खुवाउने काममा व्यस्त कुशल अहिले अन्य क्षेत्रमा राहत वितरणमा सक्रिय छन् । गोरखामा उनका थुप्रै आफन्तको घर भत्किएका छन् । उनले त्यहाँ पनि पनि राहतका कार्यक्रम अघि बढाउँदै छन् ।
नेपाल कराते महासंघ र राष्ट्रिय टिमले संयुक्त रूपमा राहत काम नगरेको भए पनि धेरै करातेकर्मी भूकम्पपीडित यस कार्यक्रममा लागेको उनले बताए । उनले भनेजस्तै कराते प्रशिक्षक योगेश चाम्लिङ र महेन्द्र राई भूकम्पपीडितका लागि सहयोग गर्न सिन्धुपाल्चोक पुगेका छन् । अन्य करातेकर्मी पनि सक्रिय छन् । उनले पारिवारिक शोकमा परेका बक्सिङ खेलाडी दीपक महर्जनप्रति पनि सहानुभूति व्यक्त गरेका छन् ।
प्रतिक्रिया