उपभोग्य सामान पाउन कठिन

khadenकाठमाडौं, २० वैशाख । भूकम्प गएको एक साता बितिसक्दा पनि उपभोग्य सामान पाउन अझै कठिन रहेको छ । नयाँ बानेश्वरकी सरला केसीले चिउरा खोज्दै कालिमाटी बजार चहार्दा पनि चिउरा नपाएको बताउँछिन् ।

त्यस्तै चाउचाउ र भुजियाको पनि बजारमा अभाव देखिएको छ । व्यवसायीको लापरबाहीका कारण बजारमा चिउरा, चाउचाउ, भुजिया, दालमोठ, पेय पदार्थलगायतको अभाव देखिन थालेको हो । विनाशकारी भूकम्पका कारण यस्ता खाद्यवस्तुको माग बढिरहेको छ । तर, यस्तो अभाव केही दिनमै हट्ने सरकारले दाबी गरेको छ ।
ठूला व्यापारी भारततर्प पलायन भएको कारण अधिकांश होलसेल पसल बन्द भएकोले पनि बजारमा त्यस्ता सामानको अभाव देखिएको हो । कालिमाटीमा रहेका अधिकांश होलसेल व्यापारीका पसल बन्द रहेका छन् । अहिले पनि राजधानीको बजार आंशिक मात्रै खुलेको छ । सरकारले उद्योग व्यवसाय सञ्चालन गरेर आपूर्ति सहज गराउन निर्देशन दिए पनि व्यवसायीले पालना गरेको देखिँदैन । पसलमा दाल, चामल, तेललगायतका खाद्यवस्तुको भने मौज्दात रहेको छ ।
यता सरकारले भने तत्कालै बजारमा खाद्यवस्तुको अभाव हुनै नसक्ने दाबी गरेको छ । भूकम्प आएपछि चाउचाउ, चिउरा, पेय पदार्थ, पानीलगायतका खाद्यवस्तुहरू उपभोग बढेपछि अभाव देखिएको हुनसक्ने उसको बुझाइ छ ।
यो भन्दा अघि नै सरकारले आपूसँग ६ महिनालाई पुग्ने उपभोग्य वस्तुको मौज्दात रहेको बताइसकेको छ । भूकम्पको डरले राजधानीवासी घरभित्र पसेर खाना पकाउन डराएपछि जंक फुडको उपभोग बढेकोले पनि यसको अभाव देखिएको हुनसक्ने अनुमान गरिएको छ । भूकम्प आएपछि उद्योगहरू बन्द गरिए, बजार खोलिएन तर खाद्यवस्तुको माग भने उच्च रहेको छ । यहीकारण बजारमा खाद्यवस्तुको अभाव सिर्जना भएको हो ।
अधिकांश पसलेहरू पनि धेरैजसो उपभोक्ताले चिउरा, चाउचाउ, पेयपदार्थ, दालमोठ, भुजियालगायतका हल्का खानेकुरा खोज्दै आउने गरेको बताउँछन् । यस्ता वस्तुहरू खोज्दै आउनेलाई सामान छैन भनेर फर्काउनुपरेको श्रेष्ठ स्टोरका दीपक श्रेष्ठले बताए ।
होलसेल बजारमा प्रशस्तै खाद्य सामग्री रहेको खुद्रा व्यवसायीको भनाइ छ । संकटका बेलामा राज्यलाई सहयोग गर्नुपर्ने व्यवसायीले बजार बन्द गरेर अतिआवश्यक वस्तुहरूको अभाव गराउन खोजेको त्यस्ता बिक्रेताको भनाइ प्रति उपभोक्ताले पनि सहमति जनाएका छन् ।
उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सबै उद्योग व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । भूकम्पको एक साता बितिसकेपछि जनजीवन सामान्यतर्पm उन्मुख रहेकोले बजार खुला गर्न चेम्बरले आग्रह गरेको हो ।
जनजीवन सामान्य बन्दै गए पनि उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा भूकम्प पीडित तथा सर्वसाधारण मानिस खाद्यान्न, पिउने पानी, लत्ता कपडा, औषधिलगायतका अति आवश्यक बस्तुहरू नपाउँदा समस्यामा परेको चेम्बरले जनाएको छ ।
आपूर्ति सहज बनाएर पीडित समुदायको समस्या समाधानमा सघाउन पनि चेम्बरले आग्रह गरेको छ । ‘चेम्बर यस विपत्को घडीमा उद्यम व्यवसाय सञ्चालन गरी आपूर्ति प्रक्रियालाई सरल र सहज बनाउन हाम्रा सदस्यहरू एवं सम्पूर्ण उद्यमी व्यवसायीलाई हार्दिक अनुरोध गर्दछ’, चेम्बरले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्प पीडित तथा राहतकार्यमा खाद्यान्नलगायत अति आवश्यकीय वस्तुहरूको उच्च माग रहेकोले बजारमा खुद्रा तहमा यस्ता वस्तुहरूको आपूर्ति न्यून रहेकोले थोक व्यवसायीलाई समेत आफ्नो उद्यम व्यवसायमा फर्कन चेम्बरले आग्रह गरेको छ । ‘व्यवसायीहरूलाई कुनै समस्या आइपरे चेम्बर अफ कमर्स साथमा छ, हामी जुटेर समस्या समाधान गर्छौँ, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, अहिलेको विपद्को अवस्थामा व्यवसाय सञ्चालन गरेर सर्वसाधारणमा सहयोग पु¥याउन हाम्रो कर्तव्य हो ।’
आवश्यक क्षेत्रमा गएर राहत वितरण गरिरहेको पनि जानकारी पनि चेम्बरले दिएको छ । खाद्यान्न, पिउने पानी, त्रिपाल, कम्बल, औषधिलगायत अति आवश्यक वस्तुहरूको अभाव महसुस भएकोले यस्ता राहतसामग्री उपलव्ध गराउन चेम्बरले आफ्ना सदस्य, उद्यमी व्यवसायी तथा आम सर्वसाधारणमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया