धूवाँकोट गाविसका सबै घरलाई राहत

धादिङ, २० वैशाख । जिल्लाको उत्तरी भेगमा पर्ने धूवाँकोट गाविसका सबै घर परिवारले समान रूपमा राहत पाएका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समिति, धूवाँकोट गाविसको कार्यालय, सैनिक श्रीमती संघ नेपाल र गैरसरकारी संस्था इम्प्याक्ट नेपाल र जितपुर वाराका सहयोगी दाताहरूको संयुक्त पहलमा धूवाँकोट गाविसका सबै परिवारलाई सामूहिक राहत सहयोग गरिएको हो । भूकम्पमा यस गाविसका ३ जनाको गाउँमै र ३ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै, एक सयभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शनिबार धूवाँकोट गाविसको भैरवीस्थानमा आयोजित कार्यक्रममा स्थानीय राजनीतिक संयन्त्र, नागरिक वडा मञ्च, सहयोगी संस्थाका प्रतिनिधि, गाविस सचिव तथा नेपाल प्रहरीको उपस्थितिमा ११ सय ५७ घर–परिवारलाई एक थान त्रिपाल, एक थान कम्बल, लगाउने कपडा, चिउरा ३ केजी, बिस्कुट १२ पाकेट, चाउचाउ १७ पोका, दाल आधाकेजी, आलु ६ किलोका साथै तेल, नुन, भुजिया, पाउरोटी र चिनी वितरण गरिएको धूवाँकोट गाविसका सचिव हिमबहादुर विश्वकर्मा जानकारी दिए ।
गाविसका अधिकांश घर भूकम्पमा परेर भत्कनुका साथै केही घर बस्नै नहुने अवस्थामा पुगेपछि सबैका लागि सहयोग उपलब्ध गराउने प्रयास स्वरूप संयुक्त रूपमा राहत वितरण गरिएको गाविस सचिव विश्वकर्माले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिले प्रति गाविसमा एक सय थान त्रिपाल पठाएर राहत वितरणका लागि गाविस कार्यालयलाई निर्देशन दिँदा अधिकांश गाविसले पीडितहरूलाई राहत वितरण गर्न नसकिरहेको बेला धूवाँकोट गाविसले नमुना उदाहरण प्रस्तुत गरेको स्थानीय कृष्णप्रसाद पण्डितले जानकारी दिए । राहत वितरणसँगै इम्प्याक्ट नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी भूकम्पपछि ५ सयभन्दा बढी स्थानीयवासीमा देखिएका स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको पहिचान गरी आवश्यक औषधिसमेत निःशुल्क वितरण गरेको थियो ।

प्रतिक्रिया